शुक्रबार, वैशाख ७, २०८१

नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको फिनपोसमा नेपाल पे ट्याप गर्न सकिने

नेपालखोज २०७९ माघ २२ गते १२:४२

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल पेलाई पनि एनआईएमबीले आफ्नो फिनपोसमा सुचारु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपिएस प्रयोग गर्न सकिन्छ । एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्युआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।

नेपाल पे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पिटुपी र पिटुएम भुक्तानीहरूको लागि कन्ट्क्याटलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्ट आईपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी भएको हुनुपर्दछ । हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार पाँच हजार रुपैंयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि अल इन वन मेसिनकोरुपमा फिनपोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रबद्र्घन गर्न निकै सकृय रुपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरै जसो सेवाहरु डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ । बैंकको देशभरी नौं लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सात लाख कार्ड प्रयोगकर्ता, चार हजार भन्दा बढी पोस तथा २७८ वटा एटिएम रहेका छन् ।

प्रतिक्रिया