मंगलबार, वैशाख ११, २०८१

‘सार्वजनिक जीवनमा सक्रिय हुने भए प्रश्नको सामना गर्नुपर्छ’

सुरेन्द्र केसी २०७९ माघ २३ गते १३:१०
सुरेन्द्र केसी

कुनै बुढी आमै, कहाँ राती बास बस्न एउटा पाहुना आउँछ । भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ । अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौ। सत्रुको बीचमा गएर लड्न थाल्ने । त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ ।

चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा नायक भनिएका राजा वा राजगुरु सबैका पछाडि जोडिएको यस्तै बुढी आमाको कथा तपाईँले पनि सुन्नु भएको होला ।

उमेर र अनुभवका हिसाबले भर्खरै सत्ता छोडेका रवि लामेछानेलाई “भाई” भन्दै त्यही दन्त्यकथा सम्झाउन चाहन्छ, यो पंक्तिकार । तात्तातो दाल भात छेउबाट खान थालौ रविभाई, बीचबाट खान शुरु गर्दा त हात पनि पोल्छ मुख पनि । अहिले सायद त्यही भइरहेको छ । यो पंक्तिकारले रविको लामो पत्रकार सम्मेलन छुटाएछ । तर उनको विगतका स्टन्ट हेर्दा त्यहाँ के भयो भन्ने अनुमान गर्न सकिन्छ ।

आफ्नो कानुनी लापरवाहीका कारण उत्पन्न परिस्थितिलाई उनले ‘हामी काम गर्न चाहन्थ्यौ तर हामीलाई काम गर्न नदिन खोजियो’ भनेर भाष्य स्थापित गर्न खोजे होलान । ‘मलाई कानुन थाहा थिएन’, ‘कानुन अज्ञानता क्षम्य हुँदैन’ भनेर आजका मितिमा मैले बुझे ‘तपाईँ पनि कानुन मान्नुस’ भन्ने अभिव्यक्ति दिए भने त उनका पछाडी लागेका मानिसहरूबाट आजसम्म पाएको सहानुभूति खोसिइहाल्छ नि ।

संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा स्थापित भयो । पार्टी गठन भएको करिब छ महिनामा बिस सिट जित्न सफल भयो । पार्टीका अध्यक्ष रवि लामिछाने आफ्नो राजनैतिक क्यारियर पत्रकारिताबाट सुरु गरेका हुन् । नेपाल त्याग गरी स्थाई रुपमा अमेरिका पलायन भएका लामिछाने अमेरिकामा नै रहदा विभिन्न बिवादमा मुछिएका कारण त्यहाँ बस्न नसकेर पुनः नेपाल फर्किएर पत्रकारिता सुरु गरे टेलिभिजन मार्फत ।

टेलिभिजनका कार्यक्रमहरू सञ्चालन गर्दा बिग हाउसका समाचारहरू आर्थिक लेनदेनमा समाचार प्रसार गर्ने वा नगर्ने भन्ने आरोप खेप्दै गर्दा आत्माहत्या प्रोत्साहन मुद्दामा वा हत्या आरोपमा हिरासतमा बस्न बाध्य भए । समय सापक्ष हिड्न सक्ने लामिछाने आम जनतामा नेताहरू प्रति नकारात्मक सोच बनाएका र स्थानिय निर्वाचनमा स्वतन्त्र ब्यक्ति निर्वाचित भएको देखि राजनीतिमा हाम फाल्ने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । नेतृत्वमा पुग्न नसके पनि चर्चाको शिखरमा पुगिन्छ भन्ने सोचेका लामिछाने गृह एवं उपप्रधान बन्न सफल भए ।

राजनैतिक नेतृत्व गर्ने वा नेता बन्छु भन्नेलाई गल्ति गर्ने छुट पटकै हुँदैन । यदि गल्ति भै हाल्यो भने आत्मसात गर्दे कानून अनुसार सजायको भागेदार हुन हिच्किचाउनु हुँदैन । यो पार्टीमा स्वच्छ छवि भएका प्रतिनिधिहरू नभयका होइनन् । जनमत सरकारमा जाने होइन यदि जानै पर्ने भए स्वच्छ छवि भएकालाई पठाउन पर्ने हुन्छ । सर्वोच अदालतले नागरिकता प्रकारणमा दोषि प्रमाणित गरिसकेको छ भने राहदानी प्रकारणमा झेलखान जाने प्रचुर सम्भावना भएका कारण लामिछानेलाई सांसद नहुँदा पनि मन्त्री चाहिएको हो भन्ने कुरा आम चर्चाको विषय बनेको छ ।

राहदानी प्रकारणमा दोषि ठहरे भने उनी तीन वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन । तसर्थ जानेर वा अन्जानमा भएको गल्तीलाई कानून सम्मत आत्मआलोचना गर्दै पाँच वर्ष जनताको पक्षमा आवाज उठाउने हो भने अर्को निर्वाचनमा मतदाताले नेतृत्वमा अवश्य पु¥याउने छन् । रविले यहाँ बुझ्नु पर्ने कुरा के हो भने यस्तै खालका गल्ती गर्दा नै आजका नेताहरूले लोकप्रियता गुमाएका हुन। रविको उमेरमा अहिले शेरबहादुर, केपी ओली, प्रचण्डलगायत सबैले आगो ओकल्थे । उनीहरूको एक हुँकारमा हजारौ मानिस सडकमा उत्रिन्थ्ये। उनीहरूले नगरेको भए आज यो देशमा लोकतन्त्र हुन्थेन, गणतन्त्र हुन्थेन ।

निरंकुशताको अन्त्य गर्न लामो इतिहास बोकेका छन् ठूला पार्टीहरूले । बि सं २०७२ को संविधानले मुलुकमा राजनैतिक स्थायित्वको परिकल्पना गरेको थियो, त्यो साकार भएन । यस्को प्रमुख कारण संविधान नभएर नेताका व्यक्तिगत स्वार्थ र तिनै नेताका दलगत स्वार्थले गर्दा नै राजनैतिक अस्थिरता जन्मिएको हो भन्नेमा दुइमत नहोला । २०६२/०६३ को परिवर्तन र २०७२ को संविधान पश्चात मुलुक जनता केन्द्रित हुनुपर्नेमा, दलहरू नेता कार्यकर्ता र आफ्नै दल केन्द्रित हुन पुगेका कारण आम जनतामा वितृष्ण पैदा हुन पुग्यो। संविधानको मर्मको त के कुरा लिखित रुपमा नै भएका व्यवस्थालाई समेत ठाडो उलङ्घन हुन थाल्यो ।

के शहिदहरूको बलिदान त्यसकै लागि थियो ? के समानुपातिक आफ्ना नातागोता, पैसाको भरमा पद बाढ्न थियो ? के चुनाबको टिकट राम्रा होइन, हाम्रालाई दिनका लागि परिवर्तन गरिएको थियो ? के आफ्ना मानिसलाई भ्रस्टाचारबाट मुक्ति दिलाउनुलाई थियो ? हो जनताको अधिकार तिनै राजनैतिक दलले स्थापित गरेका हुन तर के ती दलहरूको लामो संघर्ष जनताका लागि नभै आफ्नो र आफ्ना भन्नेका लागि थियो ? जनता मालिक हुन दास होइनन् । संसारको परिवरर्तित इतिहासलाई हेर्ने हो भने छिनभरमा नै ठूला दलको नामोनिसान बिलय भएका छन् ।

यी सबै पार्टी र नेताले गल्ती नगरेको भए न रवि जन्मिन्थे न रविको पार्टी । न उनको पार्टीले यति छिटो सत्ता पाउथ्यो । तर अहिले रवि पनि त्यस्तै गल्ती गर्दैछन्। लोकतन्त्रका खम्बा हुन स्वतन्त्र न्यायपालिका र प्रेस । निरङ्कुश हुन चाहनेले सबै भन्दा यिनलाई नै प्रहार गर्छ । हाम्रो समाजमा हाम्रो राजनीतिमा वा हाम्रो समग्र चिन्तनमा जस्तै स्वतन्त्र न्यायपालिका र प्रेसमा पनि केही समस्या छन् । तर औलामा रोग लाग्यो भन्दैमा मान्छेको औलै काट्ने त पक्कै होइन होला ।

यदि रवि र रविको पार्टी (यो ट्यागलाईनबाट छुटकारा पाउन रविको पार्टीले धेरै काम गर्न बाँकी छ) निरङ्कुशतामा विश्वास गर्दैन भने न्यायपालिका र प्रेसको स्वतन्त्रतालाई जोगाउने तिर लाग्नु पर्छ किनकी जिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक संस्कारलाई सवल बनाउने हो।सार्वजनिक जीवनमा सक्रिय हुने भए, प्रश्नको सामना सबैले गर्नुपर्छ, रवि न कानुनभन्दा माथि छन् न प्रश्नभन्दा माथि । श्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया