बिहीबार, वैशाख २०, २०८१

१ सय २२ वर्ष अघिको त्यो भव्य अभिषेक समारोह

सुनील उलक २०७९ फागुन २४ गते १०:४७

यो तस्विर बि.सं. १९५७ फागुन २३ गते मंगलबारको दिन खिचिएको थियो । यसै दिन देव शम्शेर राणा नेपालको प्रधानमन्त्री तथा कास्की र लमजुङको श्री ३ भएका थिए । यो तस्विर कसले खिचेका थिए भन्ने जानकारी छैन । श्री ३ वीरशम्शेरको निधन पछि त्यतिबेला कमाण्डर इन चिफ रहेका देव शम्शेरको श्री ३ बन्ने पालो आएको थियो । फागुन २३ मा श्री ३ बनेपछि सामुहिक तस्विर खिचिएको थियो ।

हुन त त्यसदिनको अर्को तस्विरमा राजा पृथ्वी वीर विक्रम पनि छन् । तर यस तस्विरमा भने राणा परिवारमात्र देखिएको छ । देवशम्शेरको दाँया तर्फ कमाण्डर इन चिफ चन्द्र शम्शेरलाई देख्न सकिन्छ । त्यस दिन बिहानै दाजु वीर शम्शेरको निधनको समाचार सुनेपछि देवशम्शेर लालदरवार पुगेका थिए । त्यहाँबाट श्री ३ वीर शम्शेरको पार्थिव शरिरलाई उच्च सम्मानका साथ हनुमानढोका दरवारको मुख्य प्रांगणमा राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रम पछि देव शम्शेरले श्री ३ को श्रीपेच, राजा सुरेन्द्रले जङ्गबहादुरलाई दिएको लालमोहर र राजकिय तरवार लिएर नारायणहिटी दरवार पुगेका थिए ।

श्री ५ पृथ्वी वीर विक्रमको सामु सुनको असर्फी चढाइसकेपछि राजाले नेपालको प्रधानमन्त्री तथा कास्की र लमजुङको महाराजा नियुक्त गरेका थिए । यो तस्विर त्यहि कार्यक्रम पछि नारायणहिटी दरवारमा खिचिएको थियो । श्वामश्वेतको शिशाको प्लेटमा खिचिएको तस्विरलाई कुनै दरवारिया चित्रकारले हातले निकै मेहनत गरेर रङ्गीन बनाएका थिए । हेर्दा निकै आकर्षक २९X३७ सेमी साइजको तस्विरलाई ३३X४२ साइजको फ्रेममा सजाइएको थियो ।

समयले निकै कोल्टे फेर्यो । यो तस्विर एक बेलायती टेलिभिजन पत्रकारले खरिद गरेर लगे । उनको संग्रहमा रहेको यो तस्विर २०७७ मंसिर ३ गते लिलाम बढाबढमा राखियो । यसको मुल्य १००० देखी १५०० बेलायती पाउण्ड अपेक्षा गरिएको थियो तर सोेचेको भन्दा धेरैमा बिक्री भयो । ५२०० बेलायती पाउण्ड तिरेर किन्ने खरिदकर्ताको नाम भने गोप्य राखिएको छ । अहिले यो तस्बिर तिनै अज्ञात संग्रहकको संग्रहमा छ ।

प्रतिक्रिया