बिहीबार, चैत १५, २०८०

‘चौधरी ग्रुप’ र भद्रपुर गोल्डकप आयोजकबीच सम्झौता

नेपालखोज २०७९ माघ २५ गते ७:३०

झापा । झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच आज भद्रपुरमा एक समारोहबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट मुस्ताङका कन्ट्री सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे। सो प्रतियोगिता आगामी फागुन ७ देखि १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रङ्गशालामा सञ्चालन हुनेछ ।

रङ्गशालामा करिब २० हजार दर्शक अट्ने गरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु १३ लाख र उपविजेता टिमलाई नगद रु सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार दिइने भएको छ । प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ‘ए’ डिभिजन क्लब र भारत, भुटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया