कोरोना रुघाखोकीजस्तै सामान्य ‘फ्लू’मा परिणत भएको हो ?

कोरोना अहिले रुघाखोकीजस्तै सामान्य फ्लू मा सिमित हुँदै गएको बिज्ञहरु बताउन थालेका छन । अहिले संसारभर नयाँ कोरोना संक्रमित फेलापर्ने क्रम पनि निकै कम भएर गएको छ । यद्यपि बेलाबेलामा कोरोनाको चौथो लहर आउँने हल्ला नचल्ने पनि होइन ।
यस सम्बन्धमा हार्वर्ड मेडिकल स्कूलका वैज्ञानिक डा . राम एस. उपाध्याय भन्छन, कोरोना अहिले रुघाखोकीजस्तै सामान्य फ्लु मा सिमित भएको छ । यद्यपि यो संक्रमण १० वर्षसम्म कतै जाँदैन । बिरामी बढ्दै जाँदा प्राकृतिक सुरक्षा कवच थप मजबुत हुँदै जानेछ । यो कोरोनाको वास्तविक ढाल हो । अब सम्भवतः लकडाउनको आवश्यकता पर्ने छैन, तर मास्कको आवश्यकता भने उत्तिकै पर्नेछ । किनभने प्रत्येक ४ – ६ महिनामा कोरोनाका केसहरू ह्वात्तै बढ्नेछन ।
भनिन्छ, यसअघि कोरोना भाइरस जनावरको शरीरमा कुनै हानि नपुर्याइ बस्ने गर्दथ्यो । अहिले यसले मानव शरीर पाएको छ । यो धेरै भन्दा धेरै मानिसमा बस्न आफैं विकसित हुँदैछ जसका कारण अल्फा, डेल्टा, ओमिक्रोन जस्ता भेरियन्टहरु आउँदैछन् र बिरामीहरु बेलाबेलामा बढ्दै जान्छन् ।
यो अवस्था कति खतरनाक हुन्छ त ?
संक्रमण दर बढे पनि यसको दमखम भने घटेको छ । भाइरस आफैंले पनि आफ्नै होस्टलाई मार्न चाहँदैन । यस्तो अवस्थामा आत्तिनुपर्ने अवस्था छैन तर, पहिलेदेखि नै दिर्घ रोग लागेका मानिसहरूले सावधानी अपनाउनुपर्छ । किनभने, उनीहरूलाई भाइरसले नोक्सान नपुर्याए पनि अन्य रोगको प्रभाव भने बढ्न सक्छ ।
यो अवस्था कहिले सम्म रहनेछ ?
जानकारहरुका अनुसार कोरोना भाइरसका विभिन्न प्रकार १० वर्षसम्म आइरहनेछन् । तर यो रुघाखोकी जस्तै सामान्य रोग साबित हुँदै जानेछ ।
के फेरि लकडाउनको अवस्था आउन सक्छ ?
हामीले मास्कबाट टाढा रहनु हुँदैन तर, लकडाउनको भने कुनै सम्भावना छैन ।
के नयाँ खोप चाहिन्छ ?
मानिसमा कोरोना भाइरसको आगमन नै एक प्रकारको प्राकृतिक खोप हो । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैले अब फेरि कोरोना बढ्न थाल्यो भने त्यसलाई चौथो लहर मानेर आत्तिनु पर्ने अवस्था छैन् ।

प्रतिक्रिया