शुक्रबार, जेठ ४, २०८१

माइक्रोसफ्टको नयाँ बिंग सर्च इन्जिन

नेपालखोज २०७९ माघ २६ गते १६:०४

माइक्रोसफ्ट कम्पनीले इन्टरनेट सर्च इन्जिनको क्षेत्रमा गुगलको प्रभुत्व तोड्न नयाँ स्वरुपमा आफ्नो सर्च इन्जिन बिंग सार्वजनिक गरेको छ । माइक्रोसफ्टले यो बिंग सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त च्याटबोट ChatGPT लाई समेत जोडेको छ ।

गतवर्ष सार्वजनिक भएको ओपन आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ChatGPT निकै लोकप्रिय भैरहेको छ । बिंग सर्च इन्जिनमा नयाँ फिचरसँगै सर्च बारमा विभिन्न पूर्वनिर्धारित शब्दावलीहरू उपलब्ध छन् । तत्कालका लागि हरेक व्यक्तिलाई सीमित सर्च सुविधाका साथमा बिंग सर्च इन्जिन सुरु गरिएको बताईएको छ ।

नयाँ संस्करणमा आएको बिंग सर्च इन्जिन गुगलको प्रभुत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ । माइक्रोसफ्टको सहयोगमा विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ChatGPT ले सर्च अनुरोधहरुको लागि मानिसले दिनेजस्तै जवाफ दिनका लागि डिप लर्निङ प्रविधिको उपयोग गर्दछ ।

अब बिंग सर्च इन्जिनमा कुनैपनि विषयको खोजी गर्दा केवल वेबसाइटका लिंक मात्रै नभएर विस्तृत उत्तर प्राप्त हुनेछ भने सर्चलाई व्यवस्थित गर्नका लागि च्याट पनि गर्न सकिनेछ । गुगलले Bard नामक आफ्नो नयाँ च्याटबोटको विस्तृत विवरण सार्वजनिक गरेको भोलिपल्टै माइक्रोसफ्टले बिंग संस्करणमा च्याट जीपीटी आबद्ध गरेको हो ।

विश्लेषकहरूका अनुसार नयाँ च्याटबोटसहितको बिंग सर्च इन्जिनले माइक्रोसफ्टको प्रतिस्पर्धी क्षमतामा व्यापक वृद्धि गर्नेछ । बिंग सर्च इन्जिनमा गत वर्ष सार्वजनिक भएको च्याट जीपीटीको तुलनामा अत्याधुनिक Open Artificial Intelligence  प्रविधि प्रयोग गरिएको छ ।

यता विश्लेषकहरुले च्याट जीपीटीको दुरुपयोग भैरहेको र यसलाई विद्यार्थीहरूले परीक्षामा पास गर्नका लागि उपयोग गरिरहनुका साथै पत्रकारितालगायतका विभिन्न पेसाहरुलाई समेत असर गर्नसक्ने खतरा छ । यसले कतिपय प्रश्नमा गलत उत्तरहरु समेत दिने गरेको बताईन्छ । स्रोत : बीबीसी

प्रतिक्रिया