मंगलबार, असार १०, २०८२

वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय

नेपालखोज २०७९ माघ २६ गते २१:१३

काठमाडाैं । नेकपा (एमाले) वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय भएको एमाले १५औँ सचिवालयं बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकाल्दै वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाएको छ ।

‘मिसन ग्रासरुट’ संचालन

बैठकले पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्ने र अभियान सञ्चालन फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

कार्यविभाजन

बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले जिम्मेवारी दिएको छ । यसअघि उक्त विभागको प्रमुख धनश्याम भुसाल थिए । उनले एमालेबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो । प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी आजको बैठकले तोेकेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया