शनिबार, वैशाख १३, २०८२

बटुक भैरव

सुनिल उलक २०७९ माघ २९ गते ८:३९

ईस्वी छैठौं शताब्दीमा लिच्छविकालीन राजा अंशुवर्माले बनाईएको भनिएको बटुक भैरव लगनखेलमा रहेको लगं थुर (अशोक स्तूप)को पूर्व तर्फ रहेको छ । बटुकको अर्थ साना बालक हुने हुँदा पनि बटुक भैरव, भैरवको बाल रुप हो भनेर बुझ्न सक्छौं ।

किंवदन्तीलाई नै लिने हो भने बटुक भैरव रिसाएर बिरालोको स्वरुप लिएर घुम्ने गरेको र बालकहरुलाई खान थालेपछि राजाले गुरु मीननाथको ध्यान गर्दा मीननाथले सपनामा राजगुरू मार्फत बिरालोलाई बसमा ल्याई क्षमा पूजा गरेर मन्दिर स्थापना गरेमा राज्यमा आएको संकेत निर्मुल हुने भनिए पछि सोही अनुरुप गरि बटुक भैरवको मन्दिर स्थापना गरिएको भन्ने गरिन्छ ।

तर इतिहास अनुसार बटुक भैरवको मन्दिर छैठौं शताब्दीमा अंशुवर्माले प्रयाग दर्शनबाट फर्केपछि स्थापना गरेको तथा भारतमा रहेको बटुक भैरवको मन्दिर लगनखेलको बटुक भैरव भन्दा धेरै पुरानो भएको हुँदा बटुक भैरवको दर्शन देशमै गर्न सहज गराउन प्रतिरुप बनाएको अनुमान गर्न सकिन्छ ।

दिल्लीमा रहेको बटुक भैरोंनाथलाई पाण्डबवाट निर्मित भन्ने गरिन्छ । संकट मोचकका रुपमा पूज्ने गरिन्छ । रक्सी चढाउने गरिन्छ । लखनउको बटुक भैरवलाई संगीतको देवताका रुपमा पूज्ने गरिन्छ । यहाँ पनि भैरवलाई रक्सी चढाउने गरिन्छ ।

त्यस्तै काशी, नैनीताल, मंडी, जयपुर, गुजरात तथा जोधपुरमा पनि बटुक भैरवको मन्दिर रहेको छ । नेपालमा पनि ललितपुरको लगनखेल, जुम्लाको खलंगा, भीमफेदी, दैलेख लगायत विभिन्न स्थानमा बटुक भैरवको मन्दिर रहेको छ ।

प्रतिक्रिया