सोमबार, असार ९, २०८२

भिभिआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

नेपालखोज २०७९ माघ २९ गते १७:१२

काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए ।

सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उनले भने, ‘म आफै पनि एक घण्टा सवारी जाममा परे । जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन’, उनले भने, ‘यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।’ सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिए ।

सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाए । भिभिआइपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे । बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरुले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।’

उनले औद्योगिक क्षेत्रको निर्माणलार्ई तीव्रता दिनसमेत माग गरे । सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न माग गरे । सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेको बताए । उनले भने, ‘व्यापारी बैंकबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजिरहेका छन् । किसान मल र बजार अभावका कारण उत्पादन सडकमा फाल्न बाध्य छन् । जनता र राज्यबीच विश्वासको खाडल कम गर्न राज्यले गरेको वाचा पूरा गर्न सक्नपर्छ ।’ सांसद रुपा सो शि चौधरीले किसानले कृषि उपजको मूल्य नपाएको तर बाह्य देशबाट कृषि उपजको आयात बढिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

प्रतिक्रिया