आफ्नो आकासमा देखिएको अर्को वस्तु पनि खसालेको अमेरिकी दाबी

एजेन्सी । अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानाको आकासमा देखिएको अर्को उड्ने वस्तु पनि खसालेको दाबी गरेको छ ।
अमेरिकाले आफ्नो देशको आकाशमा देखेको उडिरहेको वस्तुलाई यो हप्तामा खसालेको यो चौथो पटक हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आदेश दिएपछि सोमबार बिहान क्यानडाको सीमा नजिकै हुरन तालमा लडाकु विमानहरूले यो उडान वस्तुलाई खसालेका थिए ।
२० हजार फिटको उचाइमा उड्ने यो वस्तुले व्यावसायिक हवाई यातायातमा अवरोध ल्याउन सक्ने अमेरिकाले जनाएको छ । यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक पनि देखिएको थियो ।
रक्षा अधिकारीहरूका अनुसार उक्त वस्तु मानवरहित थियो र यसले कुनै सैन्य खतरा उत्पन्न गरेको थिएन । यसअघि फेब्रुअरी ४ मा अमेरिकाको आकाशमा एउटा बेलुन देखिएको थियो, जसलाई अमेरिकी सरकारले चीनको जासुसी बेलुन भनेको थियो । यस बेलुनका बारेमा चीनले यो मौसमको जानकारी सङ्कलन गर्न पठाइएको बेलुन भएको बताएको थियो, जुन बाटो बिराएर अमेरिकी आकासमाथि पुगेको थियो ।
बेलुन मुद्दामा अमेरिका र चीनबीच तनाव बढेको थियो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द समेत गरेका थिए ।प्रारम्भिक अनुगमनपछि अमेरिकाले यो बेलुनलाई पनि निशाना बनाएर मारेको थियो ।
यो घटना बाहिर आएपछि पनि त्यस्ता तीनवटा घटना बाहिर आएका हुन् । यद्यपि अधिकारीहरूले अहिलेसम्म यी वस्तुहरू कहाँबाट आएका थिए र तिनीहरूको उद्देश्य के थियो भनेर बताएका छैनन् । यो पत्ता लगाउन अमेरिका र क्यानडा दुवै देशले काम गरिरहेका छन् ।
प्रतिक्रिया