आइतबार, असार १५, २०८२

यातायात मजदुर र सरकारबीच वार्ता सुरू

नेपालखोज २०७९ फागुन २ गते ९:४४

काठमाडाैं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका थिए

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया