मंगलबार, वैशाख १६, २०८२

हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै

प्रकाश दाहाल २०७९ फागुन ३ गते ८:४८

हेटौडा । सरकारले हेटौडामा स्थापना गरेको व्यावसायिक मत्स्य केन्द्रको परिचय अहिले फेरिएको छ । २०२४ सालमा स्थापना गरिएको यस केन्द्रको मुख्य उद्देश्य गुणस्तरीय माछाका भुरा उत्पादन तथा बिक्री वितरण र काठमाडौं तथा हेटौडा बजारको लागि आवश्यक माछा उत्पादन गरेर आपूर्ति गर्नु हो ।

२०४९ सालमा व्यावसायिक मत्स्य केन्द्रलाई पुनः मत्स्य विकास केन्द्र नामकरण गरिएको थियो। देशमा राजनीतिक परिवर्तन भएपछि २०७५ सालमा संघीय  संरचना अनुसार यस केन्द्रको नाम परिवर्तन गरेर प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र राखियो । बागमती प्रदेशको राजधानी हेटौडाको केन्द्र विन्दु वडा नम्बर ५ मा रहेको यो ४७.०९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  समुद्री सतहबाट १ हजार ४ सय ३५ फिट उचाइमा रहेको यस क्षेत्रको परिचय स्थानीय स्तरमा भने फेरिएको छ ।

स्थानीय स्तरमा ‘माछा प्लान’ का रूपमा परिचय बनाएको यो स्थानमा अहिले आन्तरिक पर्यटक आउन सुरु गरेका छन् । ३ वर्ष अगाडि हेटौडा उपमहानगरपालिकाले आकर्षक सडक पेटी, बस्ने फलैंचा बनाएर सडकको दायाँबायाँ फूलहरू समेत रोपिदिएपछि आन्तरिक पर्यटकको एउटा गन्तव्य बन्न थालेको हो । बिहान बेलुका  नियमित रूपमा हिँड्नेहरूलाई पनि यसले राहत प्रदान गरेको छ ।

छिमेकी देश भारतमा माछाको व्यवसाय अत्यन्त राम्रो छ । भारतमा माछाको उत्पादन र व्यवसाय राम्रो देखेपछि नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्ने उद्देश्य राखेर सरकारले हेटौडामा व्यावसायिक माछा पालन केन्द्र स्थापना गरेको थियो । स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र ध्यान दिएको व्यावसायिक माछा पालन केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रूपमा ह्याचरी मार्फत भुराहरू समेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो ।

यहाँबाट हरेक वर्ष करोडौं माछाका भुराहरू उत्पादन गरी बिक्री गर्ने गरिएको छ । मौसम अनुसार यहाँका सुन्दर पोखरीहरूमा दुर्लभ प्रजातिका कयौं चराहरू आउन थालेका छन् । कति र कस्ता प्रजातिका चराहरू आउँछन् भन्ने तथ्यांक नभए पनि घुम्न तथा टहलिन आउने मानिसहरू अनौठा चराहरू देखिन थालेको बताउँछन् ।

विगतका वर्षहरूमा यहाँ साँझ बिहान टहलिन आउने स्थानीय र आक्कल झुक्कल पुग्ने आन्तरिक पर्यटकहरू देखिन्थे । वर्षमा दुई चार पटक केन्द्रले माछा बिक्री गर्ने भएकाले माछा किन्न आउनेहरूको भिड हुन्थ्यो । यस्ता बेलामा यस क्षेत्रमा मानिसहरूको घुइँचो र लाम लागेको देखिन्थ्यो  ।

हेटौडालाई काठमाडौंसँग जोड्ने कान्तिराजपथ तथा हेटौडा र धरान–चतारा जोड्ने मदन भण्डारी सडक यही केन्द्रको मध्य भाग भएर जाने गरेको छ । सडकको दक्षिण पट्टि चार वटा पोखरीमा जाने सहज पहुँच भएका कारण पनि यहाँ मानिसको भिड अलि बढी हुने गरेको थियो। यस स्थानमा टिकटकदेखि अन्य भिडियो पनि छायांकन हुने गरेका थिए । यो स्थानबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य अर्को आकर्षण हो ।

यस क्षेत्रमा आएर घुम्ने मानिसको तथ्यांक अहिलेसम्म कसैले राखेको छैन । अहिले केन्द्रले अग्लो बार लगाएपछि भने यहाँ आउने मानिस घटेका छन् । पोखरीमा माछाको चोरी निकासी हुने भन्दै केन्द्रले बार लगाएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताए । यसलाई पर्यटनसँग जोड्न कार्यालयले भन्दा पनि सङ्घीय सरकार अन्तर्गतको कार्यालय भएकाले त्यहीबाट योजना बन्नुपर्ने उनको भनाइ छ ।

नगरपालिकाले सडकपेटीलाई व्यवस्थित बनाएर फूलहरू रोपेपछि यो क्षेत्रको आकर्षण अझ बढेको स्मरण गर्छन, उपमहानगरपालिकाका पूर्व नगरप्रमुख हरिबहाबदुर महत । २०४९ र २०५४ सालमा मेयर बनेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई हरित शहरका रूपमा विकास गर्ने अवधारणा अनुरूप काम थालेका थिए। त्यो बेला नगर सडकको दायाँबायाँ रोपिएका अशोकका बोट रोपेर सुरु गरिएको हरियालीको अवधारणा देशका प्रमुख सहरमा समेत अनुसरण गरिएको थियो । सोही समयका उपमेयर हरिबहादुर महत २०७४ मा हेटौडाको मेयर भएपछि हरित तथा फूलैफूलको सहर बनाउने अभियान सुरु गरेका थिए ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको मूल उद्देश्यलाई प्रभाव नपारी यसलाई विकास गर्न सकिने भन्दै पर्यापर्यटनको दृष्टिकोणले यो क्षेत्र महत्वपूर्ण रहेको स्थानीय युवा सन्तोष पौडेलको भनाइ छ । हेटौडा-५ मा रहेको शान्त, मनोरम, आकर्षक पोखरीले सबैलाई लोभ्याउने उनले बताए । यसको प्राकृतिक अवस्थिति र जैविक विविधता संरक्षणको पक्ष खलल नपुग्ने गरी यसलाई थप व्यवस्थित लाईटिङ र गार्डेनिङ गरी यसलाई पर्यटनको केन्द्र बनाउन सकिने धारणा उनको छ ।मत्स्य विकास र यसको अध्ययन अनुसन्धानमा मात्र यसलाई सीमित नराखी यहाँ कोसौंपरबाट बर्सेनि आउने चराचुरुङ्गी अध्ययन केन्द्रको रूपमा पनि विकास गर्नुपर्नेमा उनको जोड छ । अहिले पोखरी वरिपरि अग्ला बार लगाएर घेर्नु भन्दा योजनाबद्ध रूपमा यसलाई व्यावसायिक तवरले विकास गर्न सके राजस्वको राम्रो स्रोत हुने पौडेलले बताए ।

हेटौडा ५ मा अवस्थित यस केन्द्रमा साना ठूला ४३ वटा पोखरीहरू निर्माण गरिएका छन् । यहाँको माछा स्वादिलो भएकै कारणले भीड बढ्ने भएको हुँदा माछा किन्न अघिल्लै दिनदेखि टोकन लिनुपर्ने नियम बनाइएको छ । माछाका भुराहरू पनि देशका थुप्रै स्थानमा लगिने कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिए । स्थानीय घट्टेकुलोलाई आधार बनाएर स्थापित केन्द्रलाई हेटौडा उपमहानगरपालिकामा भइरहेको तीव्र विकास, जनसंख्या वृद्धि र घट्टेकुलोको वरिपरी बनेका घरहरूले यहाँको पानी अनधिकृत रूपमा पाइप जोडेर लगेपछि यहाँको पानीको स्रोतमा कमी भएको छ ।

कार्यालय प्रमुख यादवका अनुसार केन्द्रले बारा, पर्सा, रौतहट, मकवानपुर र धादिङ जिल्लाहरूमा मत्स्यपालन कार्यक्रम विस्तार एवं आवश्यक मत्स्य बीज ह्याचलिङ्ग, फ्राई तथा फिंगरलिङ उत्पादन गरी सहज तवरले वितरण गर्दै आएको छ । केन्द्रले कृषि अनुसन्धान परिषद्‌बाट प्रतिपादित प्रविधिहरू सोझै कृषक समक्ष पुग्नु भन्दा पहिले त्यसलाई आवश्यक परिमार्जन गरी कृषि प्रसारको माध्यमबाट कृषक स्तरमा पुर्याउने उद्देश्य राखेको छ ।

यस्तै केन्द्रले अगुवा कृषक, नर्सरीकर्ता तथा ह्याचरीकर्ता कृषकहरूलाई निश्चित प्रविधि सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्न विभिन्न स्तरको तालिमका माध्यमबाट प्रविधि हस्तान्तरण गर्ने; कृषकको आवश्यकता अनुसार प्राविधिक सेवा उपलब्ध गराउने; नेपाल सरकारको नीति अनुरूप केन्द्रको विद्यमान भौतिक सुविधाको समुचित उपयोग गर्न र कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न दोहोरो मार्ग व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्देश्य राखेको जानकारी पनि प्रमुख यादवले दिए । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया