‘स्पट फिक्सिङ’ अनुसन्धान प्रतिवेदनमा १२ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । गएको पुषमा सम्पन्न नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदनले १२ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर मंगलबार सरकारी वकिल कार्यालयमा फाइल पठाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो ।
फाइलमाथि अध्ययन गरेपछि मुद्दा चलाउने या नचलाउनेबारे निर्णय लिने सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि नेउपानेले बताए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको उजुरी परेपछि सीआईबीले अनुसन्धान गरेको थियो ।
फिक्सिङमा संलग्नता रहेको आरोपमा सीआईबीले नेपाली राष्ट्रिय टोलीका पूर्व क्रिकेटर मेहबुब आलम र मोहम्मल आदिल अन्सारी सहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अन्य ९ जनालाई भने अझै पक्राउ गरेको छैन ।
अनुसन्धान सुरु गरेलगत्तै लिगको आयोजक भारतीय कम्पनी सेभेन थ्रीका मालिक खेल चलिरहेकै बेला भारत मागेका थिए ।
प्रतिक्रिया