नेपालमा क्रिकेट

नेपालमा व्यवस्थित रुपले क्रिकेट खेलको सुरुआत बि.सं. १९७८ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा मदन शम्शेरले भित्राएको देखिन्छ । सुरुमा यो खेल ठुला ठालुले खेल्ने रुपमा भएपनि पहिलो पटक खेलको लागी टिम बनाउनु पर्दा आफ्नो टिममा त केहि राणा परिवार र अन्यलाई राखे तर बिपक्षी टिममा उनले आमिर खानको लगान फिल्ममा झै साधारण व्यक्तीबाट बनाए । यसरी सानो खेलबाट नेपालमा प्रवेश गरेको क्रिकेट खेल करिब १०० बर्ष पुग्न लाग्दा पनि परिणाम आशा लाग्दो हुन सकेको छैन ।
चन्द्रशम्शेर श्री ३ हुँदा उनको प्यारो सानो छोराले क्रिकेट खेल्ने रहर गरेपछि उमेरले सानै भए पनि कान्छो छोराको रहर पूरा गर्न भारतबाट क्रिकेट खेलका सबै सामग्री ब्याट, प्याड, बल, स्टम्प, गिल्ली तथा आवश्यक कपडाको पनि व्यवस्था गराइदिएका थिए । मुस्किलले ११–१२ वर्षका मदन शम्शेर त्यो बेलाको क्रिकेट टिममा सबैभन्दा फुच्चे थिए । क्रिकेट खेलको नियम र पहिरन सहित उनले नै नेपालमा क्रिकेट खेल भित्राएको हुँदा उनलाई नेपालमा क्रिकेट खेलको पिता भन्ने गरिन्छ । यो भन्दा अगाडि ब्रिटिस रेसिडेन्टका कर्मचारीहरु समय बिताउन खेल्थे होला तर त्यसको खासै उल्लेख भएको पाइदैन । डानियल राइटले हिस्ट्री अफ नेपालमा क्रिकेट खेलको उल्लेख त गरेका छन् तर विस्तृतमा केही लेखेका छैनन् ।
१९८६ मा आफ्ना बुबा श्री ३ चन्द्रको देहावसान पछि श्री ३ बनेका काका भीम शम्शेरले पनि कुनै रोकटोक गरेनन् । उनको समयमा पनि विभिन्न प्रतियोगिताहरु भइ नै रहेका थिए । त्यसबेलाका प्रमुख टिमहरुमा मदन शम्शेरको श्रीदरवार टिम, ब्रम्ह शम्शेरको बबरमहल टिम, नरशम्शेरको जावलाखेल टिम थिए । बि.सं.१९९१ मा ब्रम्ह शम्शेरले नेपालमा पहिलो पटक क्रिकेटमा शतक गरेका थिए ।
१९९६ सालतिर राणा विरोधी आन्दोलन चरम उत्कर्षमा पुगिसकेको थियो । मानिसहरु जमघट हुने हरेक कुरामा जुद्ध शम्शेरले बन्देज लगाउन थालेका थिए । हरेक भिडभाडमा राणा विरोधी हुने आशंकामा प्रतिबन्ध लगाउने क्रममा एकदिन भद्रकाली नेर एक हुल युवाहरु क्रिकेट खेल्दै गरेको देखेपछि सार्वजनिक रुपमा क्रिकेट खेल्न रोक लगाए । यसपछि केही समय क्रिकेट खेल बबरमहल, श्रीदरवार, बहादुर भवन र जावलाखेल भित्र मात्रै सिमित हुन पुग्यो । राणा परिवार भित्रका र दरवारका कर्मचारीहरु मात्र खेलमा सिमित हुन थाले ।
बि.सं. २००३ सालमा नेपाल क्रिकेट संघ गठन भयो । राणा परिवार नजिक रहेका तर राणा परिवार बाहेकका समुहले गठन गरेको क्रिकेट संघका अध्यक्ष सिंह प्रताप शाह थिए । महासचिवमा कुमारमणि दीक्षित, तथा सदस्यहरुमा त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, मुकुन्द शमशेर थापा, पिताम्बर शमशेर थापा, कल्याणमणि दीक्षित, बन्सीराम भण्डारी, द्वारिकानाथ रेग्मी, रेशमराज, नरेन्द्र राणा र तारादेव भट्टराई थिए । देशमा प्रजातन्त्र आएपछि नेपाल क्रिकेट संघले पनि केही स्वतन्त्रताहरु पाए । जसले गर्दा २००८ सालमा पहिलो पटक देश बाहिर पटनामा खेल खेल्न पुगेका थिए भने २०११ सालमा कलकत्तामा खेल खेल्न नेपाली टिम पुगेका थिए ।
प्रतिक्रिया