‘गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्नू’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’
प्रतिक्रिया