बिहीबार, वैशाख २०, २०८१

अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा नारीको अवस्था

नेपालखोज २०७७ फागुन २४ गते ७:००

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यस दिवसलाई महिला दिवस पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च ८ मा महिलाहरुले पुरुष सरह नै ज्याला पाउनु पर्छ भन्दै पहिलोपटक संगठित भएर आन्दोलन गरेका थिए । सोही मिलमा सन् १८६० मार्च ८ मा यिनै महिलाले राष्ट्रियस्तरको पहिलो महिला सम्मेलन सम्पन्न गरे । फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना भयो । अमेरिकाको सिकागो शहरमा सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल जुलुस, आमसभा र हडताल भएका थिए । उक्त आन्दोलनका मागहरुमा १० घण्टाभन्दा बढी कामको विरोध, पुरुष सरह ज्याला पाउनुपर्ने, मातृशिशुको अधिकार, मजदुर युनियनमा महिलाको पनि मताधिकार हुनुपर्ने आदि समावेश थिए ।

न्यूयोर्कमा नै तत्कालीन समाजवादी पार्टीको सन् १९०९ फेब्रुअरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले नारीलाई पुरुष सरहको अधिकार हुनपर्ने मागसहित दिएको सुझावअनुसार प्रत्येक वर्ष नारी दिवस मनाउन थालिएको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा महिलाले उठाउने गरेका आन्दोलनहरुमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा अन्तर्राष्ट्रियस्तरको एउटा नारी दिवस मनाइने प्रस्ताव भयो । फलस्वरुप सन् १९११ मार्च १९ मा प्रथमपटक अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्ड जस्ता देशमा लाखौं महिलाको सहभागितामा प्रथम अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाईयो । उक्त दिवसमा नारीलाई मतदान गर्ने अधिकारबाहेक व्यावसायिक तालिम प्रदान गरिनु पर्ने र नारीमाथि कुनै पनि किसिमको विभेद हुन नपाउने माग समावेश गरिएको थियो ।

महिला अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरतामा सन् १९१३ र १९१४ र १९१७ मा तत्कालीन सोभियत संघमा प्रथम विश्वयुद्धको विरोधमा (रोटी र शान्तिको नारा सहित) अन्तर्राष्ट्रिय नारी दिवस मनाइए । युरोपका कैयौँ देशका महिलाले क्लारा जेटकीन, रोजा लक्जम्वर्ग र टेरेसा मल्किएलहरुको नेतृत्वमा नारी आन्दोलनमा निरन्तरता दिए । यही नारी दिवस हाल आएर संसारमा नारी अधिकारको लागि महत्वपूर्ण दिनका रुपमा मानिन्छ ।

सन् १९७५ मा संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा ग¥यो । संसारका १८९ सरकारका प्रतिनिधिद्वारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छाअनुसार राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्गिक विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारसहितको ऐतिहासिक निर्णय ग¥यो । सन् २००२ मा बसेको राष्ट्रसंघको महासभाले लक्षित गरेको सहस्राव्दी विकास लक्ष्य लगायतका सबैखाले सम्मेलन तथा सन्धिले पनि सन् २०१५ सम्ममा लैङ्गिक आधारमा विद्यमान सबै किसिमका असमानताहरु हटाउन सरकारका संयन्त्रहरु, गैरसरकारी संघसंस्थाहरु, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृपक्षले समेत आआफ्नो क्षेत्रबाट एक्लै वा समन्वयात्मक रुपमा कार्य गर्ने लक्ष्यहरु राखेको थियो । तर, संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र सीमित भएको छ ।

नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर, कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिकजसोका महिला हिंसा, बलात्कार जस्ता कैंयन घटना सार्वजनिक हुँदै आएका छन् । त्यसो त हिंसा सहन नसकेर कतिले कानुनी उपचारको बाटो खोज्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ वा दबाइन्छ ।

यी सबै घटनाक्रमले मार्च ८ का दिन काठमाडौं उपत्यकालगायत देशभरका शहरमा मनाइँदै आएको यस दिवसले हाम्रो देशका समग्र महिलाले स–सम्मान बाँच्न पाउने अधिकारको उपभोग गर्न पाएको प्रत्याभूति गर्न कदापि सकिँदैन ।

तर, यसलाई हेर्दा वा बुझ्दा महिलाले समानताको लडाई सुरु गरेको एक शताब्दीभन्दा बढी भइसकेको अवस्थामा समेत महिलाविरुद्धको शोषण, असमानता, विभेद २१ शताब्दीसम्म आइपुग्दा यसको अन्त्य भइसकेको छैन ।

त्यसमा पनि हाम्रो जस्तो पुरुषप्रधान देशमा त अझै कतै धर्म र संस्कृति, कतै परम्परा र प्रचलन, कतै भेदभावपूर्ण नियम कानुन आदिले आ–आफ्ना तरिकाले महिलामाथि विभेद र शोषण जारी राखेका छन् । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । हाम्रो जस्तो विकासशील देशको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै रहेका छन् तर स्रोत र साधनमा यिनै महिलाहरुको अत्यन्त न्युन पहुँच रहने गर्दछ ।

यद्यपी वर्तमान संविधानले लैङ्गिक आधारमा कुनैपनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । तर, समाजमा व्याप्त अतिवादी सोच र संकीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की यो अत्याधूनिक यूगमा बोक्सीको आरोपमा महिलालाई मानव मलमूत्र खुवाइन्छ । पैतृक लैङ्गिक संरचनामा जब जंगली समाजिक संरचनाका छवीहरू देखिन्छन् तब एउटी महिला निरिह कुटिन्छिन्, पिटिन्छिन् र अपमानित हुन्छिन् । एउटा पुरानो कथन यथावत नै छ– ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’अर्थात्, ‘जहाँ नारी पूजिन्छिन् त्यहाँ देवता रम्दछन्’ ।

तर, लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ र फ्यालिन्छ । भनिन्छ, सतीले सरापेको देशको दाग त्यतिकै भएको हैन । लाखौं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आँशु यथावतै छ ।

प्रतिक्रिया