प्राचीन मन्दिरबाट जलहरी र दानपेटिका चारी
सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ । जिल्लास्थित प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो ।
उनकाअनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रुपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ । प्रहरीका अनुसार चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन । ‘मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामेराको रिसिभर पनि चूँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ’, निमित्त प्रवक्ता शाहले भने, ‘प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ ।’
चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए । चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ । विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रतिक्रिया