सोमबार, असार ९, २०८२

प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली बालुवाटारमा

नेपालखोज २०७९ फागुन ४ गते १२:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन् । सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ ।

गत पुष १० गते प्रधामन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। पुष २६ मा कांग्रेससहित २ सय ६७ सांसदबाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ। एमाले नेताहरु भने एमालेको उम्मेदवार राष्ट्रपति बन्ने यस अगाडि नै सहमति भएको अभिव्यक्ति दिइरहेका छन्।

प्रतिक्रिया