बिहीबार, जेठ २, २०८२

मोदी सरकारमा क-कसले पाए नयाँ नाम ?

नेपालखोज २०७९ फागुन ४ गते १७:५६

फागुन १ गते जनयुद्ध दिबस मनाउने सरकारको निर्णयको नेपालमा ठुलो आलोचना भयो । यसैगरी पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई लिएर पनि निकै बहस चलेको थियो । यस्ता प्रक्रिया नेपालमा मात्र चल्दैनन ।

उदाहरणका लागि २०१४ मा भारतको केन्द्रिय सरकारमा आएपछि बीजेपीले दिल्ली सहित देशका बिभिन्न क्षेत्रका सडक, शहर र अन्य ठाउँहरूको नाम परिवर्तन गरेको छ । यो अभ्यासको मारमा विशेष रूपमा मुगलहरूको विरासत परेका छन ।

मुगल गार्डन : जनवरी २०२३ मा दिल्लीको राष्ट्रपति भवन परिसरको बगैचाको नाम मुगल गार्डनबाट परिवर्तन गरेर अमृत उद्यान राखियो । मुगल गार्डन मुगलहरूले बनाएका होइनन् । १९११ मा जब अंग्रेजहरूले दिल्लीलाई आफ्नो नयाँ राजधानी बनाउने निर्णय गरे सर एडविन लुटियनले नयाँ राजधानी, राष्ट्रपति भवन र मुगल गार्डनको डिजाइन गरे । बगैंचाको डिजाइन मुगल शैलीबाट प्रेरित भएकाले मुगलहरूको नामबाटै यसको नामाकरण गरिएको थियो ।

इलाहाबाद : उत्तर प्रदेशको न्यायिक राजधानीका रूपमा परिचित इलाहाबादको नाम मुगलहरूले राखेका हुन । भनिन्छ मुगल सम्राट अकबरले यसको नाम इलाहबास अर्थात् ‘अल्लाहको घर ‘ राखेका थिए जसलाई पछि उनका छोरा शाहजहाँले इलाहाबादमा परिवर्तन गरे । २०१८ मा यसको नाम प्रयागराज राखियो । मान्यता अनुसार प्राचीन भारतमा यो सहरको नाम यहि थियो ।

मुगलसराय : मुगलसराय उत्तर प्रदेश र बिहारको सीमा नजिकैको एउटा सानो सहर हो । यहाँको रेलवे स्टेशन उत्तर प्रदेशको सबैभन्दा महत्त्वपूर्ण रेल जंक्शनहरू मध्ये एक हो । फेब्रुअरी १९६८ मा आरएसएस नेता दीनदयाल उपाध्यायको शव यही स्टेशनबाहिर फेला परेको थियो । सेप्टेम्बर २०१७ मा यो सहरको नाम परिवर्तन गरी ‘ पंडित दीनदयाल उपाध्याय नगर ‘ राखियो भने २०१८ मा उक्त रेलवे स्टेशन नाम परिवर्तन गरेर ‘ पंडित दीनदयाल उपाध्याय जंक्शन ’ राखियो ।

फैजाबाद : फैजाबाद उत्तर प्रदेशको एउटा प्रशिद्व जिल्ला हो जसको राजधानी अयोध्या शहर हो । मुगलहरूसँग यो नामको कुनै सम्बन्ध छैन । फैजाबाद शहर अवधका नवाबहरूले स्थापना गरेका थिए । नवाब सफदरजंगको समयमा यसको नाम फैजाबाद थियो । २०१८ मा यो जिल्लाको नाम अयोध्यामा परिवर्तन गरिएको हो ।

डलहौजी रोड : मुगलहरूको विरासतबाट पछि हट्ने अभ्यास बीच मुगलाई नाम अपनाईएको यो एक मात्र उदाहरण हो । बेलायती गभर्नर-जनरल लर्ड डलहौजीको नाममा नामकरण गरिएको दिल्लीको डलहौजी रोडको नाम २०१७ मा दारा शिकोह रोड राखियो । दारा शिकोह औरंगजेबद्वारा मारिएका शाहजहानका जेठा छोरा थिए । उनी सुफी इस्लाम र वेदान्त बीच समन्वयको वकालत गर्दथे ।

राजपथ : गणतन्त्र दिवस परेडका लागि प्रसिद्ध राजपथलाई राष्ट्रपति भवनबाट दिल्लीको इन्डिया गेटसम्म जाने सडकको नाम मानिन्थ्यो । भारतको स्वतन्त्रता अघि ब्रिटिशहरूले यसलाई ‘ किंग्सवे ‘ नाम दिएका थिए । स्वतन्त्रता पछि यसलाई ‘ राजपथ ‘ भन्न थालियो । २०२२ मा यसलाई ‘ कर्तव्य पथ ‘ का रुपमा नामकरण गरियो ।

रेसकोर्स रोड : प्रधानमन्त्रीको सरकारी निवास नजिकैबाट जाने सडकलाई रेसकोर्स रोड भनिन्थ्यो । २०१६ मा यसको नाम ‘ लोक कल्याण मार्ग ‘ राखियो ।

प्रतिक्रिया