सत्यको पक्षमा लेख्ने पत्रकारलाई जेल

एजेन्सी । रुसको एक अदालतले साइबेरियाली पत्रकार तथा अभियन्ता मारिया पोनोमारेन्कोलाई ६ वर्षको जेल सजाय सुनाएको छ । उनलाई युक्रेन युद्धमा “फेक न्युज“ फैलाएको अभियोगमा दोषी ठहर्याइएको छ ।
मारिया रुस न्युज मा काम गर्थिन् । १६ मार्च २२२२ मा उनले युक्रेनको मारियोपोलस्थित एक थिएटरमा रूसी बम आक्रमण सँग सम्बन्धित एउटा समाचार लेखेकि थिईन । त्यही कारणले उनी अप्रिलमा पक्राउ परिन । रुसले उक्त विष्फोटमा आफ्नो कुनै पनि भूमिका रहेको कुरा अस्वीकार गर्दै आएको छ ।
यता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यो घटनालाई व्यापक कभरेज दिएका थिए भने युरोपेली युनियन तथा अमेरिकालगायत विश्वका धेरै देशले आम नागरिकलाई निशाना बनाईएको उक्त घटनाको निन्दा गरेका थिए । मे २०२२ मा समाचार एजेन्सी एपीले आफ्नो अनुसन्धानमा उक्त हमलामा करिब ६०० मानिस मारिएको कुरा पत्ता लगाएको थियो ।
अहिले मारियालाई रुसको युद्धकालीन सेन्सरसिप कानून अन्तर्गत दोषी ठहर गरिएको छ भने सजाय भुक्तानपछि पाँच वर्षसम्म पत्रकारिता गर्न नपाउने प्रतिबन्ध लगाइएको छ । मस्को टाइम्सका अनुसार अदालतमा आफ्नो अन्तिम बयानमा मारियाले भनिन्, ‘संविधानको किताब खोलेर पढनुहोस त्यो नै मेरो निर्दोषताको प्रमाण दिन पर्याप्त छ । कुनै पनि निरंकुश शक्ति आफ्नो अन्त्य हुनु अघि जति बलियो कहिल्यै हुँदैन ।’
गत वर्ष रुसमा लागू भएको नयाँ कानुन अन्तर्गत मुद्दा चलाइएका करिब १ सय ५० व्यक्तिमध्ये मारिया पनि एक हुन् । यो कानुन युक्रेनमा रुसी आक्रमणको केही समयपछि ल्याइएको हो । यसले ‘जानीजानी सेनासँग सम्बन्धित गलत जानकारी फैलाउन’निषेध गर्दछ । क्रेमलिनले युक्रेनसँग चलिरहेको युद्धलाई “विशेष सैन्य अभियान“ का रूपमा ब्याख्या गर्दै आएको छ ।
क्रेमलिनको लाइन भन्दा फरक जानकारी सार्वजनिक गर्नुलाई रुसमा फेक न्यूज भनिन्छ र यसमा १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । यो कानूनलाई रुसी सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रता दबाउन तथा आफ्नो आलोचना रोक्न व्यापक रुपमा प्रयोग गर्दै आएको आरोप छ ।
प्रतिक्रिया