अब अतिथि सत्कारमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा अब अनिवार्य रूपमा अतिथि सत्कारमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने परिपत्र जारी गरेको छ ।
उद्योग मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्नु पर्ने भनेको हो ।
सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म १५ प्रतिशत महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वदेशी माल सामान वा वस्तुको उत्पति प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्स तथा मतहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले सो विवरणलाई समेत आधार लिई स्पदेशी वस्तु खरिद गर्नुपर्ने छ । स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया