नागरिकता विधेयक तत्काल अघि बढाउन गैरआवासीय नेपालीको माग

नेपालखोज २०७९ फागुन ६ गते १०:२६

काठमाडाैं । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ ।

गैरआवासीय नेपाली संघले शनिवार बिहान नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतक सहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्ताे बताएकाे हाे । साथै संघले नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको हो ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले स्थापनाकाल देखि उठाउदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्धा थप जटिल बन्दै गएको बताइन् । थापाले पछिल्लो समय नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बिरुद्धको फैसलाले तरिंगित र सशंकित बनाएको अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अर्का अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरु उत्साहित रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गरे । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिले सम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उनले ध्यानार्कण गराए । उनले गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुदाँ अधिकारहरु पाउने भने पनि अहिले सम्म अधिकार हात नपरेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएको बताउँदै विध्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरुलाई नसमेट्ने विचार व्यक्त गरे । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा हाल सम्म बनेका कानून प्रावधानको वारेमा बिस्तृत विवरण प्रस्तुत गरेका थिए । शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताए । उनले गैरआवासीय नेपालीको अधिकारहरुलाई सुनिश्चित गर्न एनआरएनए विधेयक र एनआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नु पर्ने बताए । उनले गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न माग गरे ।

कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरु सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व दिन अनुरोध गरे ।

प्रतिक्रिया