तनहुँमा नमूना पशुपंक्षी अस्पताल

नेपालखोज २०७९ फागुन ६ गते १३:५१

काठमाण्डौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधीन ‘नमूना पशु अस्पताल’ को निर्माण कार्य ५० प्रतिशत बढी भएको छ । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएपछि निर्माण कार्य अघि बढाइएको हो । आगामी पुस महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गण्डकी प्रदेश सरकारको चार करोड नब्बे लाख लागतमा भ्याट बाहेक उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरी लिएको हो । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुई ब्लकमा पशु अस्पताल निर्माण कार्य भैरहेको सहरी विकास तथा भवन निर्माण संघीय तथा कार्यन्वयन एकाई कास्कीका साइट इन्जिनियर शिव सुनारले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।’ बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । गण्डकी प्रदेश सरकारको कूल १० रोडको लागतमा उक्त अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपंक्षीको उपचार गर्नेछन् । भवनको भुई तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।

दमौलीमा पशु अस्पताल बनेपछि तनहुँ सहित छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी लगायतका आसपास क्षेत्रमा सेवा पुर्याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा.श्रेष्ठले बताए । पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनिकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन गर्न सकिने उनले जानकारी दिए । देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन् । उनले भने, ‘रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानी बढ्नेछ ।’

प्रतिक्रिया