प्रदेशस्तरीय आर्चरीमा दुर्गा र केशरी च्याम्पियन

पोखरा । पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ भएका छन्। पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु भएको प्रतिस्पर्धामा पुरुषतर्फको रिकर्ब विधामा घर्तीमगरले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अङ्कले पराजित गरी उपाधि आफ्नो पोल्टामा पारे ।
विजेता दुर्गाले उपाधिसहित ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता खड्गले २० हजार पुरस्कार पाए । यसैगरी कास्कीका सुमन गुरुङले ६–४ को अङ्कमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तृतीय भए । यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । कास्कीका केशरी आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अङ्कमा पराजित गर्दै उपाधि पोल्टामा पारिन। पुरुषतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अङ्कमा पराजित गरी उपाधि आफ्नो पक्षमा पारे।
बागलुङका मुकेश रोकामगरले रोशन पुर्जा पुनलाई ७–५ अङ्कमा पराजित गरी तृतीय भए। प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तृतीय हुनेलाई रू १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले पाँच हजार पाए । पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार प्रदान गरिएको छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्यालले प्रथम स्थान हासिल गरेका थिए। प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल आर्चरी सङ्घका कन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, पूर्वअध्यक्ष वसन्त थकालीलगायतले पुरस्कार वितरण गरे। आर्चरी खेलका सुविधासम्पन्न पूर्वाधार रहेको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी ८९ जना खेलाडी सहभागी भएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । गण्डकी प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आर्चरी सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिक्रिया