शनिबार, जेठ ४, २०८२

दुई खेलाडीलाई स्पट फिक्सिङको अप्रोच गरेको थिए तर स्वीकारेनन् : महबुब आलम

नेपालखोज २०७९ फागुन ८ गते १५:२५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।

आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका एक जना खेलाडी र फार वेष्ट युनाइटेडका अर्का एक खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको भनाइ छ ।

आदिल अन्सारी भन्छन्, फिक्सिङको प्रस्ताव आएको थियो, मजाक गरेको सोचेँ

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल अन्सारीले स्पट फिक्सिङमा संलग्नता अस्वीकार गरेको बताएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले आफूलाई फिक्सिङका लागि अफर आए पनि त्यसमा संलग्न नभएको जिकिर गरेका हुन् ।

आदिलले आफू टी–२० लिगमा खेल्न लागेको थाहा पाएपछि ह्वाट्स एपमा समिर शेख नामक व्यक्तिले म्यासेज गरेर ‘एउटा नो बल र अर्को वाइड बल फाले’त्यसवापत १ लाख रुपैयाँ दिने भनेर प्रस्ताव राखेको स्वीकारेका छन् । तर, उनलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनेको उनले भनेका छन् ।

प्रतिक्रिया