‘राष्ट्रपतिको उम्मेदवार बन्ने बारे केही साेचेकाे छैन’

नेपालखोज २०७९ फागुन ९ गते १३:५३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे त्तकाल आफूले केही नसोचेको बताएका छन् ।

मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन् । उनले भने, ’म आफैंले पनि राष्ट्रपति बन्ने कि नबन्ने भन्ने विषयमा अझै सोच बनाएको छैन। यद्यपि यो विषयमा विभिन्न दलहरूसँग छलफल भइरहेको छ ।’

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको कुरा बाहिरिएको छ ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्न केही दिन मात्र बाँकी रहेकाे समयमा राष्ट्रपतिकै चर्चा चलिरहेको बिषयमा रहेर पत्रकारहरुको भेटवातार्मा नेपालले यसपटक पावर सेयरिङमा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।

उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताए । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । उनले भने, ‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने,‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’

प्रतिक्रिया