शनिबार, असार १४, २०८२

राष्ट्रपति निर्वाचनमा मतदाता कति ?

नेपालखोज २०७९ फागुन ९ गते १५:०७
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ को लागि सङ्घीय संसद भवन परिसर बानेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ ।

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।

तथापि, महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा आयोग निर्णयमा पुगेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ राष्ट्रपतिको निर्वाचन अगाडि नै पारित भएको खण्डमा उनले मतदानमा भाग लिन पाउने छैनन् । आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् ।

उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्न आयोगले कार्यतालिका छ । राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।

प्रतिक्रिया