निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन ।
निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मगलबार विराटनगरमा आयोजित उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिँदै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदारबीच समन्वय कायम गरी समाधान गर्ने विचार राखे । उनले प्रदेश सरकार निजी क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सङ्घीय सरकारले निर्माण व्यवसायका सम्बन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्च्याउन पहल गर्ने विश्वास दिलाए ।
महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतमलगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए । साधारणसभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया