शनिबार, जेठ ५, २०८१

रूस-युक्रेन युद्धले अब कुन बाटो समाउन सक्छ ?

नेपालखोज २०७९ फागुन १० गते ९:५८

युक्रेनमा जारी युद्धको एक वर्ष पूरा भएकाे छ । यो अवसरमा बिबिसिले सन् २०२३ मा यो युद्धले कस्तो रूप लिन्छ ? भन्ने बिषयमा केही सैन्य विज्ञको धारणा संकलन गरेको थियो । के यो युद्धको समाधान वार्ताबाट सम्भव छ ? के यसको हार जितको फैसला मैदान बाटै हुनेछ ? वा यो युद्ध २०२४ सम्म पनि तानिनेछ ? हेरौं केही बिचार :

जाडो पछि रूसले गर्ने आक्रमण निर्णायक हुनेछ । माइकल क्लार्क, एसोसिएट निर्देशक, रणनीतिक अध्ययनकर्ता, एक्सेटर, यूके इतिहास साक्षी छ – युरेशियन घाँसे मैदान – ग्रेट स्टेप्सहरू पार गरेर कुनै पनि देशलाई आक्रमण गर्ने प्रयास गर्ने सबैका लागि जाडो मौसम श्राप साबित हुँदै आएको छ । नेपोलियनदेखि हिटलर हुँदै स्टालिनसम्म सबैले जाडोमा समस्या खेप्नुपरेको छ । अहिले युद्धभूमिबाट आफ्ना सेना फिर्ता गर्ने भ्लादिमिर पुटिनको निर्णयको कारण पनि यो जाडो मात्रै हो ।

पुटिनको योजना जाडोको अन्त्यसम्म पर्खने र वसन्त सुरु हुने बित्तिकै सेनालाई नयाँ आक्रमणको लागि तयार गर्ने हो । यस प्रकारको युद्धविराम जाडोमा दुबै पक्षलाई आवश्यक हुन्छ । जाडो मौसममा पनि अगाडि बढ्ने कुरामा युक्रेनको सेना रसियाको सेना भन्दा राम्रो साबित भैरहेको छ र उनीहरूले डोनबास क्षेत्रमा रुसलाई दबाबमा राखेका छन् । कडा चिसोका बावजुद युक्रेनले रुसमाथिको प्रती प्रहारमा रोकिन वा पछि हट्न चाहँदैन । यद्यपि, दक्षिण-पश्चिममा विशेष गरी खेरसनको पुन: कब्जा पछि युक्रेनी आक्रमण मन्द छ । यस्तो अवस्थामा डिनिपर नदीको पूर्वी भागबाट रुसलाई क्रिमियासँग जोड्ने महत्वपूर्ण सडक र रेलमार्गमा दबाब पर्ने सम्भावना भए पनि युक्रेनी पक्षबाट अचानक ठूलो आक्रमणको सम्भावनालाई नकार्न सकिँदैन ।

जहाँसम्म २०२३ मा के हुन्छ भन्ने सवाल छ यो युद्धको सम्पूर्ण अवस्था र दिशा यहि जाडोपछि रुसी पक्षबाट हुने आक्रमणमा भर पर्छ । केही दिनअघि राष्ट्रपति पुटिनले आफ्ना ५० हजारभन्दा बढी सैनिक युद्धको मोर्चामा तैनाथ गरिएको र अर्को वर्ष आक्रमणका लागि २.५ लाख सैनिक तयारी अवस्थामा रहेको बताएका थिए । त्यसैले यी नयाँ रुसी सेनाको तैनाथीको अवस्था स्पष्ट नभएसम्म युद्ध बाहेक अन्य अवस्थाको सम्भावना छैन । त्यसैले यो अस्थायी युद्धविरामको अवस्था धेरै दिन टिक्न सक्ने अवस्था छैन । पुटिनले आफूले जित भन्दा तलको अवस्था स्वीकार नगर्ने स्पष्ट पारेका छन् र युक्रेनले आफ्ना सैनिकहरू अन्त्यसम्म पछि नहट्ने घोषणा गरेको छ।

युक्रेनले आफ्नो सबै भूमि फिर्ता गर्नेछ । आन्द्रेई पियान्कोव्स्की , वैज्ञानिक तथा युद्ध विश्लेषक , वाशिंगटन डीसी मेरो विचारमा २०२३ को वसन्त समाप्त हुन्जेलसम्ममा युक्रेनले रूसले कब्जा गरेको सबै क्षेत्र फिर्ता गर्नेछ । यो निष्कर्षमा पुग्नुका पछाडि दुईवटा स्पष्ट कारण छन् । यसको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कारण युक्रेनी सेनाको मनोबल र दृढता तथा युद्धमा एकजुट भएर उभिने देशका रूपमा सम्पूर्ण युक्रेनको साहस हो । यस्तो उदाहरण युद्धको आधुनिक इतिहासमा यसअघि कहिल्यै देखिएको थिएन ।

दोस्रो कारण हो – पश्चिमी देशहरू तथा रुसी तानाशाहले वर्षौंपछि महसुस गरेका ऐतिहासिक चुनौती । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भनेका थिए – ‘हामी (पश्चिमी देशहरू) अहिले पैसाले तिरिरहेका छौं , युक्रेनका जनताले आफ्नो रगतले तिरिरहेका छन् । जब तानाशाही शक्तिले आफ्नो सेनालाई सम्मान गर्छ, तब हामीले त्यो भन्दा ठूलो मूल्य चुकाउनु पर्छ । त्यस्तो स्थिति यो संसारका लागि पहिले भन्दा बढी खतरनाक हुनेछ ।’ जहाँसम्म हालको युद्धमा युक्रेनको विजयको प्रश्न छ यो कुरा नाटोले युक्रेनलाई युद्ध परिवर्तन गर्ने सैन्य उपकरण (ट्याङ्क, युद्धपोत र लामो दूरीका क्षेप्यास्त्रहरू) कति चाँडो उपलब्ध गराउँछ भन्ने कुराले निर्धारण गर्नेछ । मलाई लाग्छ मेलिटोपोल आगामी महिनाहरूमा निर्णायक रणभूमि बन्नेछ । मेलिटोपोल कब्जा गरेपछि ओजोभा सागरमा युक्रेनी सेनाको पहुँच सजिलो हुनेछ । त्यस पछि क्रीमियाको सबै आपूर्ति र संचार लाइनहरू रोक्न सकिनेछ ।

युद्धको यो मोर्चामा युक्रेनको यो आक्रामक अग्रसरता पछि प्राविधिक वार्तामा रुसको आत्मसमर्पणको औपचारिक सहमति हुनेछ । विजेता युक्रेनसँगै अमेरिका र बेलायत हुनेछन् जसले सुरक्षाको नयाँ अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिनेछन्। म यो युद्धको अन्त्य देख्दिन । बारबरा जानचेटा, युद्ध अध्ययन विभाग, किंग्स कलेज, लन्डन युद्ध सुरु हुनु अघि भ्लादिमिर पुटिनलाई लागेको थियोे युक्रेनले आफ्नो बलियो सेना समक्ष आत्मसमर्पण गर्नेछ । युक्रेनको आक्रमणमा अरु कुनै पनि देशले साथ दिने छैनन् । पुटिनका यी सबै मूल्याङ्कनहरू गलत सावित भए र यहि कारणले आज यो सम्पूर्ण सङ्घर्ष युद्धमा परिणत भएको छ जसको अन्त्य अहिले नै देखिँदैन । अबका दिन अझ कठिन हुनेछन् किनभने रूसले युक्रेनी सेना तथा नागरिकको मनोबल घटाउन युक्रेनी पूर्वाधारमा आक्रमणलाई तीव्र पार्नेछ ।

यद्यपि अहिलेसम्मको विनाशमा युक्रेनले उल्लेखनीय लचिलोपन देखाएको छ । यसरि युक्रेनी जनता जति दृढ रहनेछन् यो युद्ध उति लामो समयसम्म चल्नेछ । यस्तो वातावरणमा दिगो शान्तिका लागि कम्तिमा एक पक्षले आफ्ना मुख्य मागहरू परिवर्तन गर्नुपर्ने भएकाले वार्ताको सम्भावना कमजोर देखिन्छ । यद्यपि दुवै पक्षले त्यसो गर्ने कुनै सङ्केत देखापरेको छैन । युद्ध कसरी समाप्त हुनेछ ? यसलाई हेर्ने एउटै तरिका छ । युद्धमा जीवन र सम्पत्तिको हानि । यो त्यस्तो पक्ष हो जसले रुसको राजनीतिक नेतृत्वको युद्ध सम्बन्धि उन्मादको अन्त्य गर्नेछ । यो रूस भित्र कुनै पनि समयमा हुन सक्छ। विगतलाई हेर्ने हो भने भियतनाममा अमेरिका, अफगानिस्तानमा सोभियत रुस जस्ता गलत हिसाबले गरिएका सबै युद्धहरू यसरी नै समाप्त भएका थिए । यी सबै देशमा राजनीतिक परिस्थिति परिवर्तन हुनासाथ युद्धबाट पछि हट्नुपरेको थियो । यसमा सम्मान कायम रहोस् वा नरहोस् अर्को विकल्प थिएन ।

युक्रेनको हकमा पनि यो सम्भव हुन सक्छ, यदि युद्धमा भएको जनधनको क्षतिलाई लिएर रुसमाथि घरेलु दबाबका साथ युक्रेनलाई समर्थन गर्ने मामिलामा पश्चिमी देशहरू यसरी नै दृढ रहे भने । यो लडाइ सेना र हतियारसँगै आर्थिक मोर्चामा पनि जारी रहनेछ । यो २०२३ को अन्त्य सम्म समाप्त हुने देखिदैन । युद्धमा रुसको पराजय निश्चित छ । बेन होजेस , युरोपमा अमेरिकी सेनाका पूर्व कमान्डिङ जनरल युक्रेनी सेनाले राजधानी किभमा विजय उत्सव मनाउने कल्पना गर्न अलि चाँडो भए पनि सबै परिस्थिति युक्रेनको पक्षमा छ । युक्रेनले यहि वर्ष नै यो युद्ध जित्नेछ भन्नेमा मलाई कुनै शंका छैन ।

बिभिन्न कारणले परिस्थिति अलि ढिलो परिवर्तन हुने भए पनि युक्रेनको सेनाले हरेक मोर्चामा रुसभन्दा राम्रो काम गर्नेछ किनभने उ सँग अमेरिका, बेलायत, क्यानाडा, जर्मनीजस्ता देसहरुको समर्थन छ । अब युक्रेनले आफ्नो पक्षबाट युद्धको अन्तिम अभियान सुरु गर्नेछ र त्यो अभियान क्रिमियालाई रुसको कब्जाबाट मुक्त गराउने हुनेछ। हामीलाई थाहा छ कि संसारको हरेक युद्धले सम्बन्धित देसको सैन्य प्रणालीका साथै त्यहाँका जनताको इच्छा शक्तिको कडा परीक्षा लिन्छ । यो सन्दर्भमा म युक्रेनका जनता र सेनाको दृढ संकल्प देख्छु । उनीहरूले यो सैन्य प्रणालीलाई कठिन परिस्थितिमा पनि राम्रो बनाउन खोजिरहेका छन्, म यसको अगाडि रुसको हारबाहेक केही देख्दिन । म यो निष्कर्षमा तब पुगें जब रूसी सेना खेरसनबाट पछि हट्यो , जसका कारण युक्रेनी सेना र जनताको मनोबल बढ्यो भने अर्कातर्फ क्रेमलिन बदनाम भयो ।

मलाई विश्वास छ कि २०२३ को अन्त्य सम्ममा क्रिमियामा युक्रेनको कब्जा पूर्ण रूपमा पुनर्स्थापित हुनेछ । यद्यपि यस सम्बन्धमा केही सहमति हुन सक्छ ताकि रुसले सेभास्टोपोलमा रहेको आफ्नो नौसैनिक आधारलाई क्रमशः हटाउन सकोस । यससँगै सम्भवतः त्यो सन्धि पनि समाप्त हुनेछ (२०२५ सम्म) जुन रुसले क्रिमियामाथि कब्जा गर्नुअघि गरेको थियो । यसबाहेक आजोभ समुद्री तटमा युक्रेनको पूर्वाधार पुनर्स्थापनाका लागि प्रयासहरू तीव्र गरिनेछ । यसमा मारिउपोल र बर्दयान्स्क तथा उत्तरी क्रिमियन नहर जस्ता बन्दरगाहहरू पनि समावेश छन् ।

जे भैरहेको छ, भविष्यमा पनि हुनेछ । डेभिड गेंडलमैन, सैन्य विशेषज्ञ, इजरायल यो युद्ध कसरी टुङ्गिन्छ भनेर सोच्नुको सट्टा अर्को चरणमा कुन पक्षले के पाउँछ वा गुमाउँछ भन्ने कुरा हेर्नु रोचक हुनेछ । अहिले रुसले युक्रेनसँग युद्ध गरिरहेको छ , रुसका आधा सैनिक , जसको संख्या करिब तीन लाख छ यो मोर्चामा तैनाथ छन् । खेरसनबाट पछि हटे पनि बाँकी सेनाहरू अर्को आक्रमणका लागि रूसलाई बलियो बनाउन पर्याप्त छन् । लुहान्स्क र डोनेट्स्क जस्ता क्षेत्रहरूमा रसियाको कब्जा यथावत रहन सक्छ तर दक्षिणी युक्रेनको डोनबासमा युक्रेनी सेनालाई घेरेर पाभ्लोग्राड कब्जा गर्ने जस्ता कुरा असम्भव देखिन्छ । सम्भवतः रुसले आफ्नो वर्तमान रणनीतिलाई निरन्तरता दिनेछ जस अन्तर्गत उसले युक्रेनी सेनालाई बाख्मुत र अवडिभका जस्ता साँघुरा क्षेत्रहरूलाई लक्षित गरेर अगाडि बढ्नबाट रोकिरहेको छ ।

रुसले पनि स्वातोभ–क्रिमिना क्षेत्रमा यही रणनीति अपनाइरहेको छ । यसबाहेक रुसले युक्रेनको पावर प्लान्टलाई निशाना बनाएर अन्य पूर्वाधार नष्ट गरेर आफ्नो धार कायम राख्ने रणनीति जारी राख्न सक्छ । रुसलाई खेरसनबाट पछाडि धकेलेपछि ठूलो संख्यामा युक्रेनी सैनिकहरू अब स्वतन्त्र छन् । रणनीतिक रूपमा तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र दक्षिणी भाग हो । मेलिटोपोल वा बर्दियान्स्क जसको कब्जा भनेको मुख्य भूमि रसियालाई क्रिमियाबाट अलग गर्नु हो । यो युक्रेनका लागि ठूलो जीत साबित हुन सक्छ । युक्रेन सँग अर्को ठूलो विकल्प छ – स्वाटोभ । यसलाई कब्जा गर्न सफल हुनु भनेको रूसी सेनाको सम्पूर्ण उत्तरी मोर्चामा प्रत्यक्ष खतरा हो ।

अब यहाँ प्रश्न उठ्छ कि यो मोर्चामा आक्रमण गर्न युक्रेनसँग कति सैनिक बाँकी छन् ? वा युक्रेनीले अर्को तीन महिनामा आक्रमणका लागि कति नियमित र आरक्षित सेनाहरू तयार पार्छ ? सैनिकका साथसाथै सैन्य सवारी साधन र भारी हतियारको व्यवस्था पनि निर्णायक हुनेछ । यी प्रश्नको जवाफ यो जाडो पछि नै पाईनेछ अनि त्यस पछि मात्र रुस र युक्रेनबीच जारी द्वन्द्वको अन्त्य कसरी हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया