शुक्रबार, जेठ ४, २०८१

सन् १९२० मोडलको इण्डियन मोटरसाइकलमा जंगबहादुरका नाति

सुनिल उलक २०७९ फागुन १० गते ११:१०

काठमाडाैं । राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको हत्या गरि धिरशम्शेरका सत्र भाइ छोरामा रोलक्रम गराउन वीरशम्शेरले ४२ साल पर्व घटाए । यो घटनामा केवल रणोद्वीप मात्र मारिएनन् । जङ्गका सन्तान पनि खोजी खोजी मारिए । केही सकेकाहरु भागे । कोही ब्रिटिस रेजिडेन्सीमा शरण लिएर बाँचेका थिए ।

जङ्गका तेह्र छोरामा कति मारिए कति भागे । यस्तैमा कान्छो हर्षजङ्ग भागेर दार्जिलिङ पुगे । दार्जिलिङबाट इलाहाबादमा गएर बसे । केवल २१ वर्षको उमेरमा भागेर त्यहा पुगेका उनले चम्बाका सरदार बालक सिंहको छोरीसंग बिबाह गरेर उतै घरजम गरेर बसे । दुइ छोरा र एक छोरीका साथ खुशियाली संग उतै रहे । छोरा दुर्गाप्रताप जङ्ग राणा पटियालाको सेनामा क्याप्टेन तथा अफिसर सम्म बने ।

जङ्गका सन्तानलाई नेपालमा आउन छुट दिए पछि दुर्गाप्रताप नेपालमा आए । नेपालमा आएर पोखरामा बिर्ता पाइ बसे । अहिलेको चिप्लेढुङ्गा सडक देखी उत्तर गैह्रापाटन सडक देखी दक्षिण रामकृष्ण टोलको सडक देखी पूर्व र साँघुमुख देखी पश्चिमको जग्गा बिर्तामा लिए । यसै बिर्तामा पछि आएका जङ्गबहादुरका भाइ जगतशम्शेरका नाति तथा भुपेन्द्रजङ्गका छोरा खड्गजङ्ग पनि आएर बसे ।

दुर्गाप्रतापका दुइ छोराहरुको घर अझै पनि चिप्लेढुङ्गामा नै रहेको छ । उनका सन्ततीहरु काठमाडौ र पोखरामा बसोबास गर्दछन् । दुर्गा प्रतापको बिहान साँझ ज्यूहजुर गर्नेहरुले पनि मनग्गे जग्गा पाए । तिनका सन्ततीको पनि घरहरु यहि चिप्लेढुङ्गा सडकमा रहेको छ । कति जग्गा बिस्तारै बेच्न पनि थाले । यहि किन्नेहरुमा एक नेपालको ताजमहल अर्थात रानीमहलको निर्माता खड्ग शम्शेरको नाति पनि संयोगले पोखरा निवासी हुन पुगेका छन् । खड्गशम्शेरको नाति पूर्व एसपी चिरञ्जिवी शम्शेर जबराको जमिनमा हाल महेन्द्रपुलको सेलवेज तथा अन्य पसलहरु रहेका छन् ।

यहाँ तस्विरमा देखिएको दुर्गा प्रताप राणा हुनुहुन्छ । भर्खरको युवा अवस्थामा मोटरसाइकलमा सवार हुनुहुन्छ । यो मोटरसाइकल विश्वमै दुर्लभ मोटरसाइकलमा पर्दछ । अमेरिकी मोटरसाइकल कम्पनी इण्डियनको सन १९२० को मोडल हो । सय वर्ष पुरानो यस मोटरसाइकलमा हातले चलाउने गियरबक्स पहिलो पटक राखिएको थियो । हातले तानेर गियर बदल्नु पर्ने हुन्थ्यो । तस्विरमा दाँया हातको हाण्डल नजिकै देखिएको लामो रड यहि गियरको हो ।

प्रतिक्रिया