गरिब र धनीलाई अलगअलग स्वास्थ्य बीमाको व्यवस्था हुनुपर्छ : सांसद डा. कार्की

नेपालखोज २०७९ फागुन १० गते १७:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै प्रणालीको ढाँचा परिवर्तन गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलको तर्फबाट बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताइन् । नेपालको स्वास्थ्य बीमाको मोडल गलत भएकै कारण स्वास्थ्य बीमा बोर्डका अध्यक्षले हालै राजीनामा दिएको उल्लेख गरिन् ।

बीमा कार्यक्रम आर्थिक अवस्था कमजोर भएकाहरुप्रति लक्षित रहेपनि धनी वर्गको ओगट्ने र गरिबले अस्पतालमा बीमा रकमबाट उपचार पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको उनको भनाइ छ । विद्यमान बीमा मोडलले गरिबलाई प्रत्यक्ष फाइदा पुग्न नसकेको उनको भनाइ थियो ।

स्वास्थ्य बीमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले बीमितलाई उपचारमा झनै समस्या थप भएको उनले बताइन् । बीमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था हुनुपर्ने बताइन् । उनले देशमा आत्महत्या घटनामा भइरहेको वृद्धिले मानसिक स्वास्थ्य सेवा जनस्तरमा पुर्याउनुपर्ने औल्याइन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी सांसद कार्कीले आगलागीमा परेका सांसद चन्द्र भण्डारीको ३० प्रतिशत शरीर जलन हुँदा पनि कीर्तिपुर अस्पतालले उपचार गर्न नसकेर रेफर गर्ने अवस्था रहनु दुःखद् भएको बताइन् । देशभरका अस्पतालमा जलनको उपचार सेवाका लागि भेन्टिलेटरसहित आईसीयू कक्ष थप गर्न संचालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया