७१ लाख ८० हजार रुपैयाँ सहित पटके हुण्डी कारोबारी पक्राउ

काठमाडौं । ७१ लाख ८० हजार रुपैयाँ सहित पटके हुण्डी कारोबारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार भारतको हिमाञ्चल प्रदेश सिमला थाना घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजय कुमार गुप्तालाई पक्राउ गरिएको हो ।
काठमाडौंको कुलेश्वर एरियामा केहि व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्ने कार्यमा संलग्नहरुको निग्रानी राखी खोजतलास गर्ने यही फागुन आठ गते कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा रु ७१ लाख ८० हजार सहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको उक्त कार्यालयले जानकारी दिएको छ ।
उक्त कार्यालययका अनुसार पक्राउ परेका गुप्ताले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुलेको छ । गुप्तालाई यसअघि पनि मिति २०७५.०४.०७ गते भारतीय रुपैया दुई लाख र ने.रु. ३१ लाख रकम सहित यसै कार्यालयबाट पक्राउ गरि राजस्व छली सम्बन्धि कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया