शनिबार, जेठ ५, २०८१

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ भाेलिदेखि सुरु

नेपालखोज २०७९ फागुन ११ गते १६:५५

काठमाडौं। लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् ।

मंगलबार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार भेटघाट आयोजना गर्दै सो महाधिवेशनको तयारी पुरा भएको उनले जानकारी गराए । यस पटकको महाधिवशेनमा अध्यक्ष लगायतका केही पदहरु सहमतीमा निर्विरोध चयन हुने विश्वास पनि अध्यक्ष बिजीले कार्यक्रममा व्यक्त गरे ।

देशभरीबाट २६ हजार ११८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भने,‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवशेन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं ।’ उनले अगाडि थपे,‘१२ गते रातभरको प्रयास पछि हामी १३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं ।’

पत्रकार सम्मेलनमा प्रतिष्ठानको प्रेस विज्ञप्ति बाचन गर्दै अध्यक्ष बिजीले भने,‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो । यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति, भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ । त्यस्तै मध्ये एक लोक तथा दोहोरी गीत हो ।’ विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्थाहो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल भएको पनि उनले बताए ।

कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकालमा थुप्रै उत्कृष्ट कार्यहरु भएको पनि अध्यक्ष बिजीले बताए । प्रतिष्ठानले काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको पनि उनले जानकारी गराए,‘कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छौं ।’ उनले भने ।

अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् । प्रतिष्ठानका महासचिब सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ । प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको पनि उनले बताए । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन् ।

प्रतिक्रिया