प्रधानमन्त्री दाहाल फागुन १९ गते दोहा जाने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचाैँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुनुहुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुनुहुने उनले जानकारी दिए । दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन् ।
एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन्।
सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्नुहुने प्रवक्ता लम्सालले बताए । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।

प्रतिक्रिया