सडक छेउमा पार्किङकाे माग गर्दै सडकमा उत्रिए व्यापारी

काठमाडौं । महानगरपालिकाले लिएकाे दरबार मार्ग क्षेत्रमा पार्किङ हटाउने निर्णयको विरोधमा दरबारमार्ग क्षेत्रका व्यवसायीहरु सडकमा उत्रिएका छन् ।
महानगरको निर्णयबमोजिम महानगरका प्रहरी बले दरबारमार्ग क्षेत्रका सडकमा रहेको सवारीसाधनको पार्किङलाई हटाएपछि यस क्षेत्रका व्यापारीहरू पार्किङको पुनः व्यवस्था हुनुपर्ने माग गर्दै सोमबार निर्णयको ‘घोर विरोध’ लिखित कालो ब्यानरसहित सडकमा आएका हुन् ।
महानगरको निर्णयअनुसार महानगरको प्रहरी बलले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग मिलेर दरबारमार्ग लगायत महानगरभित्रका सडक किनाराका सबै पार्किङ हटाएको छ । पार्किङ हटाएपछि व्यापार नभएको भन्दै उनीहरुले महानगरको विरोध गरेका हुन् ।
महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध बोर्ड राखेर पार्किङ गर्न दिएको छैन । निषेध क्षेत्रमा पार्किङ गर्नेलाई पहिलो पटक नै ट्राफिकले १५ सय रुपैयाँ जरिवाना लिने गरिएको छ ।
यसअघि बागबजारस्थित सडकबाट पार्किङ हटाएको भन्दै त्यस क्षेत्रका स्थानीय र व्यापारी महानगरविरुद्ध आन्दोलनमा उत्रिएका थिए । तर महानगरले आन्दोलनकारीको मागको सुनुवाइलाई बेवास्ता गर्दै आएको छ । महानगरका प्रमुखमा स्वतन्त्रबाट निर्वाचत बालेन शाह छन् ।

प्रतिक्रिया