अमेरिकामा भीषण हिउँ आँधीका कारण जनजीवन प्रभावित

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा भारी हिमपात गराएको हिउँ आँधी अहिले पूर्वतिर सरेको छ जसका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको छ ।
ओक्लाहोमा, कान्सास, मिसौरी तथा टेक्सासको मौसम हिजो सोमबार निकै खराब थियो । ती क्षेत्रमन घरहरु भत्किएको तथा विद्युतीय तारहरु टुटेको खबर छ । जसका कारण हजारौं मानिस विद्युतविहीन जीवन बिताउन बाध्य भएका छन् । यो आँधीमा परी हालसम्म कम्तीमा १२ जना घाइते भएको समाचार छ ।
अमेरिकाको माथिल्लो मध्यपश्चिममा मौसम यो हप्ताको अन्त्यसम्मै खराब रहने पूर्वानुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी विनाश क्यालिफोर्नियामा भएको छ । त्यहाँ विद्युत् अवरुद्ध हुनुका अतिरिक्त बाढीको अवस्था सिर्जना भएको छ । यो प्रकोपलाई ध्यानमा राख्दै अहिले क्यालिफोर्नियाको सडक र समुद्री किनारहरू बन्द गरिएको छ ।
सोमबारसम्म क्यालिफोर्नियामा मात्र ४६ हजार घर बिजुलीविहीन थिए । यसैगरी टेक्सास र ओक्लाहोमामा लगभग २८ हजार मानिस अन्धकारमा बाँच्न बाध्य भए । रिपोर्ट अनुसार ओक्लाहोमा राज्यमा आइतबार राति सातवटा आँधी आएको थियो । त्यहाँको भिडियो फुटेजमा कारहरू पल्टिएको र घरका छानाहरू आँधीले उडाएको देख्न सकिन्छ ।
उत्तरी टेक्सासको ओक्लाहोमाको सिमानामा हावाको गति १ सय ८३ किलोमिटर प्रतिघण्टा रेकर्ड गरिएको थियो । यो ‘श्रेणी ३ ‘ आँधी बराबर हो ।
प्रतिक्रिया