टी-२० मा नयाँ कीर्तिमान : पूरै टिम १० रनमा अल आउट

काठमाडाैं । यो सडक वा फुटपाथमा खेलिएको प्रतिस्पर्धा थिएन । एकातिर स्पेनको टिम थियो भने अर्कोतिर आइल अफ म्यानको टिम थियो । आइल अफ म्यान देसको नाम हो जुन सन् २०१७ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को एसोसिएट सदस्य छ । ट्वान्टी–२० विश्वकपमा यो टिमले युरोपेली उपक्षेत्रीय छनोटमा पनि सहभागिता जनाइसकेको छ । यद्यपि स्पेनविरुद्धको एउटा खेलमा आइल अफ म्यानको प्रदर्शन निकै लज्जास्पद रह्यो ।
पहिले ब्याटिङ गरेको आइल अफ म्यानको टिम १० रनमा अल आउट भएको थियो । यश सँगै पुरुष ट्वान्टी–२० खेलको न्युनतम स्कोर उसको नाममा दर्ता भयो । यसअघि न्यूनतम स्कोरको कीर्तिमान सिड्नी थन्डर्सको नाममा थियो । गत वर्ष (२०२२) एडिलेड स्ट्राइकर्सविरुद्धको खेलमा सिड्नी थन्डर्सले १५ रन मात्रै बनाउन सकेको थियो । त्यसभन्दा अघि यो कीर्तिमान टर्कीको नाममा थियो । सन् २०१९ मा टर्कीले चेक गणतन्त्रविरुद्ध २१ रन मात्र बनाउन सकेको थियो ।
के भयो खेलमा ?
आइल अफ म्यानका सात जना ब्याट्सम्यान शून्य रनमा आउट भए । जोसेफ बुरोजले सर्वाधिक ४ रन मात्र जोडन सके । स्पेनका लागि मोहम्मद कामरानले ह्याट्रिक सहित चार विकेट लिए । उनले ल्यूक वार्ड, कार्ल हार्टम्यान र एडवर्ड बियर्डलाई लगातार तीन बलमा आउट गरे । स्पेनका लागि आतिफ महमुदले पनि ४ विकेट लिए भने लोर्न बर्न्सले पनि दुई विकेट लिए । आइल अफ म्यानको टिम ८ .२ ओभर मात्र विकेटमा टिक्न सक्यो ।
स्पेनले जितका लागि ११ रनको लक्ष्य दुई बलमै पुरा गरेको थियो । स्पेनको इनिङ्सको पहिलो बल नो बल थियो । त्यसपछिका दुई बलमा अवेस अहमदले दुई छक्का प्रहार गर्दै खेलको अन्त्य गरे । उनले १ सय १८ बल बाँकी रहँदै आफ्नो देस लाई १० विकेटको जित दिलाए ।
स्पेनका प्रशिक्षकले आइल अफ म्यानको टिमलाई आफ्नो मनोबल कायम राख्न सल्लाह दिएका छन । स्पेनका प्रशिक्षकले भने, “मलाई आशा छ कि उनीहरु यो नतिजाबाट निराश हुनेछैनन् र यसबाट सिक्नेछन् ।” स्पेन र आइल अफ म्यानबीच ६ खेलको शृङ्खला खेलिएको थियो । यो शृङ्खलामा स्पेनले विपक्षी टोलीलाई पराजित गरेको छ ।
यद्यपि आइल अफ म्यानले त्यस अघिको खेलमा राम्रो प्रदर्सन गरेको थियो । उक्त खेलमा टिमले २० ओभरमा आठ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उक्त खेल पनि स्पेनले ४५ बल बाँकी रहँदै ७ विकेटले जितेको थियो ।
प्रतिक्रिया