मोटरसाइकलमा प्रेस लेखेर ठगीधन्दा चलाउने २ जना भारतीय पक्राउ

बुटवल । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्यो भनी उपभोक्तासँग ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । उनीहरु प्रेस टाँसिएको मोटरसाइकलमा चढेर ठगीधन्दा चलाउँदै आइरहेको खुलेको छ ।
प्रहरीले भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोवाइल चार्जका लागि सजिलो मानिने पावर बैंक किनेर घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र पूर्णरुपमा काम गर्ने भनिएपनि दूई तीनमा पनि चार्ज नभएपछि पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।
अभियुक्तहरुको साथबाट एमआई २० हजार मेगा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक/एक थान, स्क्रयाच कुपन ७९ थान, मोटरसाइकल बरामद गरिएको छ ।
चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको पाइएको छ । ठगीको उजुरी परेपछि खोजी गर्ने क्रममा पक्राउ परेका हुन् । उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया