सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८२ जना चालक सहभागी

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८२ जना चालकहरू सहभागी भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको बताउनु भएको छ । ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्येनजर गरी अन द स्पट चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।
सोमबार गरिएको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा एक सय ५० जना, बौद्धमा एक सय १९ जना, नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना, कीर्तिपुरमा २२, काँडाघारीमा नौं जना, थानकोटमा तीन जनार भैंसेपाटी क्षेत्रमा दुई जना गरी काठमाडौं उपत्यकामा छ सय ८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो । यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले बताएका छन् ।

प्रतिक्रिया