एन्फा बैठकमा पदाधिकारीबीच चर्को विवाद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ ।
चार महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमितिको बैठक सातदोबाटोमा जारी छ । महासचिव किरण राईले एक साताअघि पत्राचार गरेर बुधबार बिहान आठ बजेलाई बोलाएको बैठक दुई घण्टा ढिलो १० बजे सुरु भएको थियो ।
तर, बैठक सुरु भएलगत्तै कार्यसमिति पदाधिकारीबीच चर्काचर्की भएको थियो । करिब दुई घण्टाको छलफलपछि अहिले खाना खान विश्राम भएको छ। तर, विश्रामपछि बैठकले निरन्तरता पाउनेमा शंका उब्जिएको छ । यसअघि बैठकमा पाँच वटा एजेन्डा थप्न आह्वान गरेको संस्थापन–इत्तर समूहले एक घण्टापछि पत्रकार सम्मेलनको तयारी गरेको छ ।
‘अस्ति एजेन्डा थप्न माग गरेका पदाधिकारी/सदस्यहरूले एक घण्टामा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छौं,’ एक सहभागीले भने ।
अर्का एक पदाधिकारीले भने, ‘बैठकमा बहुमत सदस्यले निर्णय प्रक्रियामा हुँदैन भन्दाभन्दै पेलेर अध्यक्षले एकतर्फीरुपमा निर्णय गरियो। त्यसमा हाम्रो विमत्ति छ ।’
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू– विराटजंग शाही, दीर्घबहादुर केसी, दीपक खतिवडा र सदस्यहरू रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यञ्जनकार, भरत बुढ थापा, पेमा डोल्मा लामा, टीका लामा, भोजराज शाही, मनिष जोशी, मनिराज विष्ट, महेन्द्र क्षेत्री र सरिला श्रेष्ठ गरी १५ जनाको नामसहित ५ एजेन्डा थप्न माग गरेका थिए ।
प्रतिक्रिया