प्रदेश नं १ को नाम ‘कोशी’ प्रस्ताव

काठमाण्डौं । प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेश भएको छ । नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ५८(ख) बमोजिम आज प्रस्ताव पेश भएको हो ।
सत्तापक्ष नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव गर्नुभएको ‘कोशी’ नामलाई सभामुख बाबुराम गौतमले छलफलका लागि निर्णयार्थ पेश गर्दा बहुमतले स्वीकृत गरेको थियो । सोही सम्बन्धमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशको नाम ‘किराँत–लिम्बूवान–सगरमाथा’ प्रदेश हुनुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
स्वीकृत प्रस्तावमा नेपाली कांग्रेसका भूपेन्द्र राई, एमालेका रेवतीरमण भण्डारी र राप्रपाका गोपाल विश्वकर्माले समर्थन जनाएका थिए भने अस्वीकृत प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो, जसपाका निर्मला लिम्बूले समर्थन जनाई प्रदेशको नाम पहिचान र सामथ्र्यको आधारमा हुनुपर्ने माग राखेका थिए। प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमाथिको छलफल केहीबेर अघि सकिएको छ ।
सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका थिए। दुई घण्टापछि अर्काे बैठक बस्ने सभामुख गौतमले जानकारी दिए ।
प्रतिक्रिया