नारायणी नदी संरक्षणमा प्राथमिकता

भरतपुर । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहालका अनुसार नदी संरक्षणको काम पाँच चरणमा हुने र यसले महानगरवासीलाई सुरक्षित बनाउने छ भने पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ । उनले भनिन्- नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।
उपप्रमुख चित्रसेन अधिकारीका अनुसार धार्मिक पर्यटनको संरक्षणका लागि यो नयाँ योजना सुरु गरिएको हो । उनले भनिन्- भरतपुर महानगरले धार्मिक पर्यटनलाई महत्व दिँदै काम गरिरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाखको लागतमा नरायणी पुलको उत्तरतर्फको नारायणी नदी किनारमा ६ सय ४० मिटर तटबन्ध गर्न लागेको हो । यसका लागि गत पुस पाँच गते ठेक्का सम्झौता भई डाइनामिक कन्स्ट्रक्सनले बोलपत्र सकार गरी काम गरिरहेको आयोजनाका निर्देशक गणेश मरासिनिले जानकारी दिनुभयो । उहाँका अनुसार हरियाली सहितको तटबन्ध गरिने छ । यो काम सम्पन्न गर्न १८ महिनाको समय दिइएको छ ।
यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाले नारायणी नदि किनारमा आरतीस्थलको निर्माण सुरु गरेको छ । अठ्ठाइस मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेने सो स्थलको निर्माण सम्पन्न गर्न १ करोड ७५ लाखमा ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थलमा ढुङ्गा छापिने छ भने आरतीस्थलको बाहिरी भागमा मोज्याक टायल लगाइनेछ । आरतीस्थल , देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ गर्ने ठेक्का सम्झौता गरिएको छ । यसका लागि महानगरले ४१ करोड १९ लाख खर्च गर्नेछ ।

प्रतिक्रिया