शनिबार, असार ७, २०८२

नेकपा समाजवादीसँग पार्टी एकताका लागि एमालेको प्रस्ताव

नेपालखोज २०७९ फागुन १८ गते १३:४०

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मुखमा आएर नेकपा एमालेले नेकपा एकीकृत समाजावदीसँग पार्टी एकताका लागि प्रस्ताव गरेको छ । तत्कालिन नेकपा विभाजन भएपछि एमालेबाट माधव नेपाल समूह विभाजन भएर नयाँ नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेको थियो । पुष १० को सहमतिपछि बालकोटमा बनेको गठबन्धनमासमेत उसलाई सामेल गराउन नचाहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी एकताको प्रस्ताव पठाएका छन् ।

एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह गर्ने सन्दर्भमा उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरुले एमालेसँग पुनःपार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेतााले पार्टी एकताको प्रस्ताव गरेका हुन् ।

बिहीबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगर पुगेका उनीहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन र पार्टी एकताको प्रस्ताव स्वीकार्न आग्रह गरेका छन् । यो निर्वाचन दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन अवसर बन्न सक्ने भन्दै एमाले उपमहासचिव गुरुङले दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन यो अवसर उपयुक्त भएको र यसलाई अधिकतम रुपमा प्रयोग गरिने बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने यो भेटले सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार बनेको बताएका थिए । तर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक भएकाले तत्काल यसो गर्छौं भन्ने परिस्थिति नभएको जवाफ दिएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आसन्न राष्ट्रपति पदको निर्वाचनमा उमेदवार बनेका नेता नेम्वाङका लागि भोट माग्न उनीहरू त्यहाँ पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वालासहितका नेताहरूसँग उनीहरूको छलफल भएको थियो ।

प्रतिक्रिया