शनिबार, असार ७, २०८२

वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा मत माग्दै सांसदहरुलाई पठाए पत्र

नेपालखोज २०७९ फागुन १८ गते १४:०६

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सांसद रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका पौडेलले बिहीबार आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।

बिहीबार कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत मागेका हुन् ।

‘सबै धर्म संस्कृति, जात वर्ग लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको पालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोट व्यक्त गरेका छन् ।

‘नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारका रुपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु’ उनले पत्रमा लेखेका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार एमालेका उपाध्यक्ष समेत रहेका सांसद सुवास नेम्वाङ पनि विभिन्न दलका नेताहरुसँग भेट गरी मत मागिरहेका छन् ।

प्रतिक्रिया