‘संविधान जोगाउनका लागि राष्ट्रपतिमा रामचन्द्रले जित्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गर्दा विगतमा जसरी संविधान च्यात्ने जोखिम नहुने र अहिलेको गठबन्धन पनि पुरै समय जाने बताएका छन् । देउवाले अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको पौडेल निर्वाचित भएपछि गठबन्धन के हुन्छ भन्ने कुरामा चिन्ता नलिन आग्रह गरेका छन् ।
काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न बिहीबार आयोजना गरिएको कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको बताए ।
सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे । ‘रामचन्द्रजी अहिले राष्ट्रपति पदको लागि सबैभन्दा योग्य व्यक्ति हो । उहाँ प्रजातन्त्रको स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वास्त छु,’ उनले भने, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

प्रतिक्रिया