सोमबार, वैशाख ३१, २०८१

फ्रेन्ड रिक्वेस्ट

सत्या अधिकारी २०७९ फागुन २० गते ६:४९

नचिनेको मान्छेको फ्रेन्ड रिक्वेस्ट आयो । एसेप्ट गरिन् । बारम्बार उही मान्छेको रिक्वेस्ट आई रह्यो । धेरैपटक आएपछी सोच्न बाध्य भएँ । प्रोफाइल हेरें । अलिअलि म्युचुअल फ्रेन्ड रहेछन् । जे पर्ला उही टर्ला भन्दै एसेप्ट गेरें । मैले एसेप्ट गरेको निमेषभरमै उताबाट हात हल्लाएको तस्बिर आयो । नमस्कार गर्यो ।धन्यवाद भन्यो । उत्पातै खुशी भयो उ । मसँग साथी बन्न पाउँदा । त्यो दिनदेखि लगातार हेल्लो मेम, हाई मेम, सन्चै हुनुहुन्छ ? खाना खानुभो ? भन्दै बोल्न थाल्यो । म चाहिँ ट्यास्स हजुर ! मात्र लेख्थें कहिलेकाहीं । मेरो गुलियो बचन पाउनासाथ उ फुर्केको खबर दिन कैले हातको बुडी औंला ठड्याएर त कहिले दुई हात जोडेर अनि कहिले मुटुको रातो चित्र पठाउँथ्यो ।

छक्क पर्थें म, केटामान्छेहरुको स्त्रीलम्पट ब्यहोरा देखेर । यसरी, उ मसँग फेसबुकमा बोल्ने क्रम चलिरह्यो । सधैं बोल्न खोजिरहन्थ्यो । मेरो प्रोफाइलमा गएर सारा स्टाटसमा लाइक र कमेण्ट गर्थ्यो । फेसबुकै त हो भन्दै,उसले गरेका लाईक र कमेन्टमा मैले कुनै आपत्ती जनाइन । एकदिन मलाई म्यासेज पठायो, ‘मेमको घर कता ?’ भन्दै । मैले मेरो ठेगाना दिँए ।अनि परिवार, छोराछोरी, घर माईती सबै सोध्न भ्यायो । एउटा पत्रकारले लिएको अन्तर्वार्ता भन्दा कम थिएन उस्को सोधाई । मैले पनि आफ्नै हिसाबले उसका जिज्ञासाहरु मेटाउँदै गएँ ।

फोन नम्बर मागेको थियो । एउटा कुनै नम्बर पठाएं। खासमा भन्ने हो भने, उसको बारेमा मलाई जान्नु पनि थिएन र सुन्नु पनि। उसलाई, मेरो बारे सबै थाहा पाएंँ भन्ने लागेछ कि कुन्नी ? मैले नसोधे पनि उसले स्वयम् आफ्नो परिचय दिन थाल्यो । उसको कुराले, उ नेपाल सरकारको ठुलै ओहोदाको कर्मचारी भएको मैले बुझें। त्यो दिनको कुराकानी यतिमै टुङ्याएँ, म आंफैले । भोलिपल्ट फेरि मेरो फोनमा स्कुलको पालेदाइले पहिलो पिरियडमा बजाउने घण्टीझैं ट्वाङ एक घन्टी बज्यो । हेरें । अरु कस्को हुन्थ्यो र ? उसैको रहेछ । शुरुमा नमस्कार सँगै एउटा लघुकथा जत्रै म्यासेज आएको रहेछ। समग्रमा भन्दा म संग चिया पिउने इच्छापत्र थियो त्यो।बेलुका मेरो परिवारको वा उसको परिवारले थाहा पाउने डरले हुन सक्छ, प्राय दिनमा मात्र कुरा गर्न आउथ्यो, उ म सँग ।

त्यसैले उसको सँगै चिया पिउने आग्रह पनि स्विकारें र मेरो कार्यालयमै बोलाएँ। मेरो अनुमती पाएर उसले रातो मुटुको चित्र सगैं धन्यवादको वर्षा गरायो मलाई। भोलिपल्ट मैले दिएको समय भन्दा अगाडिनै उ मेरो कार्यालयमा खडा भयो । मैले उसलाई पहिलो पटक देखें । फेसबुकमा भन्दा अल्लि फिक्का लाग्यो । तर नराम्रो लागेन । हामी दुबै क्यान्टीनको आमने सामने बस्यौं । उसँग पहिलोपटक भेटेको भए पनि, म निसङ्कोच थिएंँ भने ,उ चाहीं अल्ली हडबडाएको जस्तो देखिन्थ्यो। चिया खाजा अर्डर गर्दै गर्दा उसले कुराकानी सुरु गर्यो ।

‘हेर्नोस मेम! पहिला पहिला अफिस हुंँदा समय गएको पत्तो हुदैनथ्यो।यो रिटायर्ड लाईफ त सारै पट्यार लाग्दो हुंँदो रहेछ। दिन काट्नै मुस्किल।कतै जाउंँ भनेपनि एक्लै कता जाने? अफिसका साथीहरु को कता ? को कता पुगिसके। उसको कुराले मलाई उ रिटायर्ड सुड्डो रहेछ भन्ने लाग्यो। उ एकोहोरो बोल्दै गयो, म चाहिँ धार्नेको टाउको मात्र हल्लाउदै गएँ। धेरैबेरको एकोहोरो टाउको हल्लाई पछीआँफैलाईअसजिलो लाग्यो । केही त बोल्नै पर्यो भन्दै सोधेँ ‘ अनि मेडम र बाल बच्चा नी?” मेरो यो एउटा प्रश्नले उ अल्लि भावुक भयो र भन्दै गयो’ मेडम भएको भए त कुरै सकिन्थ्यो नी । उ त कान्छो एक बर्षको हुँदा बितेकी हो।कान्छाको बाबू पनि , आमा पनि मै हो। सार्है गार्हो हुँदोरहेछ मेम, बाआमा दुबैको भुमिका निर्वाह गर्न। ठूलो छोरो अमेरिकामै घरजम गरि बसेको छ।

कान्छोलाई नेपालमै राखौं भनेर हुर्काएंँ बढाँए ,पढाएँ र सिभिल इन्जिनियर बनाएँ। कुल घरकी पढालेखा केटी हेरेर उसको बिहे पनि गराएँ। उनको कुरा सकिन नपाउंदै बिचैमा म प्वाक्क बोलें ‘ए त्यसो भए ,ऐले त रमाइलो होला नि ?’ रमाइलो नै छ भन्नू पर्यो मेम।उनीहरूको खुशीनै मेरो खुशी । बिहे गरेको दुई बर्ष त सँ बसे। त्यसपछि उ पनि भासियो बुहारी लिएर अस्ट्रेलिया । छोरा बुहारीहरु ।

‘बुवा! हजुर नेपालमा एक्लै हुनुहुन्छ ,यतै आउनु भन्थे”। उनीहरुको आग्रहलाई स्विकार्नुको विकल्प नै थिएन। गएँ उतै। दुइ महिना भन्दा बढी टिक्न सकिन त्यहाँ । जेलखाना जस्तो। छोरा बुहारी काममा जान्थे ।चिन्नु न जान्नु कोसंग बोल्ने? त्यो ब्यस्त मुलुकमा।हामी जस्ताको काम छैन ।अनि फर्कें आफ्नै घर। एक्लो बृहस्पतिको काम छैन मेम। पहिला छोराहरु हुंँदा त बरु मन बुझाएको थिएँ। ऐले त उनको यादले घर भित्र छिर्नै मन लाग्दैन। भात, भान्छा ओछ्यान सबै तिर उनैलाई मात्र देख्छु। केही गर्दा पनि बिर्सन सकिन। एक्लै छु सम्झाउने र साहारा दिने कोहि छैनन् मेम।’

यति कुरा भन्दै गर्दा उसका आँखाका डिल्ल टिल्पिल भैसकेका थिए। सरी! भन्दै उ वासरुमतिर छिर्यो। म पनि अर्काको आँखामा आँसु देख्न नस्क्ने मान्छे। छिटो छिटो दुबै आँखा पुछें र ओभाना बनाएंँ। उ वासरुमबाट निस्कियो। एकछिन् हाम्रो टेबलमा सुन्यता छायो। केही छिनको सुन्यतालाई चिर्दै मैले टेबलको खाना खाने ईशारा गरें।कतिबेला देखिको टेबुलको चिया र नास्ता बिरालाको नाक जस्तो भैसकेको थियो।त्यै पनि अन्नको श्रापको डरले मन नलागी नलागी प्लेट रित्यायौं । चिया मात्र खुवाउने आग्रह गरेको उसले खाजाको पनि पैसो तिर्यो ।

केही गल्ती गरेको थिएन तै पनि जानेबेला माफी माग्यो मसँग। मैले पनि बिदाइको हात हल्लाएँ र सरासर कार्यस्थल तिर लागें । आज मेरो मन हिजो अस्ति भन्दाअल्लि फरक भयो।कुरा धेरै खेले मनमा। बेलुका घरमा खानामा पनि त्यति मन गएन। बिस्तारामा पल्टें।धेरैबेर मेरा दुइ मार्ग निर्देशक तछाड मछाड गर्दै मडारिन थाले। एक मनले भन्छ कतै उसले गरेका कुराहरु तेरै जस्ता झुटा त हैनन्? होइन होइन भन्दै मस्तिष्क बोल्छ । बिश्वास गर !

उसका आँखाहरु त्यति झुटा देखिएका छैनन् । मन र मस्तिष्कको धेरै बेरको रस्साकस्सी पछि मेरो मनको जित भयो । जितको हुङ्कार दिँदै मनले मलाई भन्न थाल्यो’ हे कठोर आईमाई ! कस्तो संयोग भएको छ तँलाई। पग्लिनु पर्छ तैंले अब। अस्ति उसलाई दिएको तेरो परिचयमा कति सत्यता छ ? सोचेकी छस् ? खै तेरो परिवार? बालबच्चा खै तेरा? आखिर तलाई पनि तेरा परिवारले एक्लै छोडेर गएको बिर्सिइस् ? तँ पनि बेसाहारा आईमाई होइनस् ? किन झुठ बोलिस् उ संग? जीवन लामो छ।सुम्पी उसलाई तेरो बांँकी जीवन। यसमा तिमी दुबैको भलाई छ।’ मनका कुरा जित्न कस्ले सक्छ र? हो, मैले पनि सकिन जित्न आफ्नै मनलाई। र आज पहिलोपटक उसलाई म्यासेज गर्दैछु ,” हेल्लो रमेश जी! तपाईं कता हुनुहुन्छ ?’

सानेपा, ललितपुर

प्रतिक्रिया