शुक्रबार, वैशाख २१, २०८१

फटाहा

रञ्जुश्री पराजुली २०७८ कार्तिक २७ गते १०:१२

एक साझ उनका भाइ आउँने भएकोले आमाले अगाडि नै छोराछोरीलाई भनेकी थिइन् — आज रमेश मामा बस्ने गरी आउँछु भनेको छ । तिमीहरुलाई पनि कम्प्युटरमा केके सिकाउँछु भनेको छ । समयमा नै खाएर मामासङ्ग आआफ्नो सिक्न पर्ने कुराहरु सिक है ।

छोराछोरीले एकै स्वरमा भने — आहा, रमेश मामा आउने ! हुन्छ आमा हामी सिक्छौँ ।
रमेश मामा आउनेबित्तिकै भाइलाई उनले भनिन् — यी केटाकेटी मोबाइलमा धेरै अल्मलिए । बिग्रन आँटे । फटाहा नै भइसके । अलि राम्रोसँग सिकाइ देऊ । सम्झाई पनि देऊ ।

खाना खाइसकेर कम्प्युटर खोलेर रमेश सिकाउन बसे । बुबा “मेरो अफिसको काम छ भनरे ल्याप टप काखमा लिएर घोरिन थाले । आमा “म पनि धन्दा सकेपछि मेसेन्जरमा साथीहरुसङ्ग च्याट गर्छु । तिमी चाहिँ भन्जा भान्जीलाई सिकाइदेउ है रमेश“ भनेर कोठातिर लागिन् । रमेश पनि आफ्नो मोबाइलमा व्यस्त भए ।

त्यति बेला नै छोरो गएर वाईफाईको तार नदेखिने ठाउँमा चुँडाइदियो । फलस्वरूप वाईफाई अफ भयो । वाईफाई नै नभएपछि सिकाउने कार्यक्रम भएन । सबै सुत्न गए । बाबुआमा तथा रमेश डाटा खोलेर मोबाइलमा व्यस्त भए । धेरे बेरपछि रमेश उठेर पानी खान भाञ्जा भाञ्जीलाइ बोलाए । तर उनीहरु कतै पनि देखिएनन् । कोठा, बाथ्रुम, आदि सबैतिर हेरे । उनीहरुलाई कतै नदेखे पछि “सुति सकेकी भनेर सिरक पल्टाएर हेर्दा त्यहा तकियालाई मान्छे जस्तै गरि छोपेको देखे । बेलुका आठ बजे केटाकेटी कहाँ गए होलान् भनेर खोज्न जाँदा आफ्नो घरअगाडिको गेटको छेउमा ओडनेले गम्लङ्ग भएर आआफ्नो मोबाइलमा मन पर्ने कुरा हेरिरहेको पाए ।
रमेश मामाले भाञ्जाभाञ्जीलाई डर देखाउने हिसाबमा भने — पख तिमीहरूलाई । म दिदीलाई भनिदिन्छु । मोबाइलले गर्दा तिमीहरू फटाहा भइसके छौ ।
भञ्जाले मामालाई जबाफ दिए — मामा मोबाइलले केटाकेटीलाई मात्र बिगारेर फटाहा बनाउँछ कि बाबुआमालाई पनि, भनिदिनु न ।

प्रतिक्रिया