बुधबार, जेठ २, २०८१

पृथ्वीनारायण शाहलाई सम्झिँदा…

सुनील सापकोटा २०७८ पुष २७ गते १४:२८

आज पृथ्वीनारायणको ३००औं जन्म जयन्ती हो । पृथ्वीनारायण शाह हाम्रो देश नेपालका राष्ट्रनायक हुन् । यसमा कुनै वादविवाद र शंका नगरौं । उहाँको मृत्यु ५२ वर्षको अल्पआयुमा भएको थियो । जुन नेपालीहरुका लागि त्यो बेला दुर्भाग्यको पक्ष थियो । उहाँ अरु केही वर्ष जीवित रहेको भए नेपाललाई धेरै नै फाइदा पुग्ने थियो होला ।

यो दुनियाँमा सिकन्दर, नेपोलियन, बिस्मार्क आदिको जसरी त्यहाँको राष्ट्र निर्माणमा योगदान छ, त्यस्तै पृथ्वीनारायण शाहको पनि हाम्रो राष्ट्रको स्थापना गर्नमा अतुलनीय भूमिका र योगदान छ ।

एउटा आफ्नो सानो देश गोर्खाको एकीकरण गरी एउटा ठूलो राष्ट्र नेपाल भन्ने नयाँ नाम राखेर उनले नयाँ खस राज्यका साथै अन्य आर्य हिन्दुहरुको राष्ट्र जन्माएका हुन् । जो त्यो कालखण्डमा हिन्दु, बुद्ध र मुस्लिम धर्मावलम्बीका लागि ठूलो फाइदाजनक कुरा थियो । त्यो बेला भारतवर्षमा क्रिस्चियन धर्मावलम्बी अंग्रेजहरुको राज्य विस्तारको बेला थियो । तत्कालीन इस्ट इन्डिया कम्पनीले भारतमा रहेका धेरै हिन्दु स-साना राज्यहरुलाई आफ्नो मातहतमा लिइसकेको थियो । क्रिस्चियन धर्म स्थापित गरिरहेको थियो । त्यहाँका बौद्ध, मुस्लिम र हिन्दुहरुलाई गुलाम बनाएको थियो । सोहीबेला पृथ्वीनारायण शाहले हिन्दुहरुको रक्षा गर्न पनि गोर्खाको राज्य विस्तार गरी नेपालको एकीकरण गर्दा त्यो बेला तीनवटै धर्मावलम्बीलाई फाइदा नै पुगेको देखिन्छ ।

अहिले पृथ्वीनारायण शाहको पक्ष र विपक्षको विषयमा धेरै कुराहरु आइरहेका छन् । पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारका क्रममा धेरै हिंसा र अमानवीय कुराहरु गरे भन्ने कुरा केहीले लेखिरहेका छन् । म त्यतातिर जान्न । ती सबै कुरामा सत्यता पनि नहोला । किनभने हामी कहाँ धेरै जसो हल्ला र प्रायोजित कुराहरु हुन्छन् । हामी अनुसन्धान नै गर्दैनौं । तर सत्य के हो भने कुनै पनि राज्य विस्तार गर्दा युद्ध हुन्छ नै, बिनाहिंसाको राज्य विस्तार वा एकीकरण सम्भव हुँदैन । महात्मा गान्धीको भारतको स्वधीनता आन्दोलन जो अहिंसात्मक भनिए पनि त्यहाँ व्यापक हिंसा भएको थियो भने राज्य विस्तार गर्दा काटमार हुनु स्वभाविक नै हो । तर पृथ्वीनारायण शाहको सबल पक्ष के थियो भने उनले गोर्खा राज्यको विस्तार गरी आफ्नो राज्यलाई ठूलो परे पनि एकीकरण गरेपछिको आफ्नो राज्यको नाम बदली नयाँ नाउँ नेपाल राखे । गोर्खा नाउँ राखेनन् । जुन-जुन उनले जितेका राज्यहरु थिए ती सबै राज्यहरुको भाषा र संस्कृतिलाई आफ्नो बनाए ।

अर्को राम्रो पक्ष नेपालबाट क्रिस्चियनहरुलाई धपाए । त्यो बेला हिमवत खण्डका ५४ वटा हिन्दु स-साना राज्यहरुमा रहेका सबैजसो मुसलमानहरु, बुद्ध धर्मावलम्बीहरु, आदिवासी र किरातीहरुबीच सद्भाव र सामन्जस्यता कायम गरेका थिए ।

धेरै के लेखुँ । उनको विषयमा जति लेख्दा पनि कम हुन्छ । उनी हाम्रो देशको महानायक हो । राष्ट्र निर्माता हो । अहिले हाम्रो देश गणतन्त्र भयो भन्दैमा त्यो कालखण्डलाई नबिर्सौं । आफ्नो इतिहासको गौरव गरौं । कम्तिमा वर्षमा एकपल्ट भए पनि पृथ्वी जयन्तीमा त उहाँको सम्झना त गरौं ।

प्रतिक्रिया