आइतबार, जेठ ६, २०८१

किशुनजीमा सत्ता र शक्तिको आशक्ति थिएन (भिडियो)

दमननाथ ढुङ्गाना २०७९ फागुन २० गते ८:००

मानिस भनेको मूल्य–मान्यता भएको प्राणी हो । के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने चेतना मानिसमा मात्रै हुन्छ । राजनीतिमा उद्देश्य पूर्तिका लागि मात्रै लागेको देखिन्छ । अधिकांशले साधनालाई ख्याल गर्दैनन् । यसरी साधना र साध्यलाई एकैसाथ अघि बढाउन साधारण व्यक्तिले सक्दैन । जो आध्यात्मिक छ, उसले मात्रै साध्य र साधनालाई आत्मसाथ गर्न सक्छ । नेपालमा राम्रा नेताहरू पनि छन् । ती मध्ये पनि कृष्ण प्रसाद भट्टराई (किशुनजी)भिन्न हुनुहुन्थ्यो । किनभने उहाँले राजनीतिमा अध्यात्मलाई जोड्नुभयो । कठिन भन्दा कठिन परिस्थितिमा पनि आफूलाई कहिल्यै विचलित हुन दिनुभएन ।

धेरैलाई थाहा भएको विषय छ, उहाँ एक पटक प्रधानमन्त्री हुँदा र अर्को पटक उपनिर्वाचनमा पराजित हुनुभयो । कसको कारणले म पराजित भएँ भन्ने थाहा थियो । तर उहाँले आक्रोश, रोष कसैलाई कहिल्यै व्यक्त गर्नुभएन । हामी बारम्बार उहाँ कहाँ पुग्थ्यो । उहाँले जुन संयमता देखाउनुभयो । त्यसले नेपाली काँग्रेसलाई एकताको सूत्रमा बाँधिराख्ने वातावरण बनाइराख्यो । उहाँसँग ऋषिमुनिको संयमता नभएको भए काँग्रेस पार्टीको एकता सम्भव थिएन । 

आध्यात्मिकता भनेको के हो भने जीवनमा सत्कर्म, सफलता, असफलता, सम्पत्ति भोग, लोभ लालच, मरणका कुरासँग जोडिन्छ । यी सबै कुराबाट मुक्त व्यक्ति नै सन्त हुन्छ । सन्त बन्न सजिलो छैन । त्यस्ता व्यक्तिले जीवनकालमा आइपर्ने कठिन परिस्थितिलाई पनि सहज रूपमा लिन सक्छ । त्यो क्षमता किशुनजीमा मात्रै थियो । उहाँ आफ्ना गतिविधि र कुराले कसैलाई पनि चोट नपरोस् भन्ने गरी ख्याल राख्नुहुन्थ्यो । गम्भीर विषयलाई पनि रमाइलो र सरल किसिमले राख्ने उहाँको जस्तो क्षमता जीवित वा स्वर्गीय अन्य नेतामा भेटेको छैन । बरु, आफैँलाई व्यङ्ग्य गर्नुहुन्थ्यो । अरूलाई घोचेर, अपमान गरेर कहिल्यै बोल्नुहुन्थेन । त्यसैले किशुनजी जहिले पनि असल मान्छे कसरी बन्न सकिन्छ भन्ने साधनामै रहनुभएको पाइन्थ्यो ।

सारांशमा भन्ने हो भने किशुनजीले राजनीतिमा आध्यात्मिकता जोड्नु भो । जुन विरलै हुन्छ । जसरीले गान्धीले भारतमा त्यो अभ्यास गर्नुभयो । उहाँमा सत्ता र शक्तिको आशक्ति थिएन । प्रधानमन्त्री हुँदा आफूले व्यहोरेको पराजितको घटना प्रति रोष प्रकट नगर्नुले पनि उहाँलाई शक्तिको लोभ थिएन भन्ने प्रमाणित हुन्छ ।

पूर्व सभामुख दमननाथ ढुङ्गानासँग किशुनजीको स्मृतिमा गरिएको कुराकानीमा आधारित

पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया