‘दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा ब्यापक परिवर्तन हुन्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वव्यापी रुपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा ब्यापक परिवर्तन आइरहेको भन्दै नेपाललाई पनि त्यही स्तरमा विकाास गर्न आवश्यक भएको बताएकी छन् । मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले मोबाइल र इन्टरनेटमा सबै जनताको पहुँच हुनुपर्ने बताउँदै सरकारले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक एजेन्डाका रुपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्ने कार्य प्राथमिकतामा रहेको बताइन् । उनले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउने विषयमा पनि सरकारको उत्तिकै प्राथमिकता रहेको बताइन् ।
उनले भनिन्, ‘सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिन म बिशेष आग्रह गर्न चाहन्छु । प्राधिकरणले उपलब्ध राज्य स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ । प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमको व्यवस्था गर्न पनि आग्रह गर्न चाहन्छु, ’मन्त्री शर्माले भनिन् । विश्वव्यापी रूपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा ब्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताइन् ।
दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्वोधन गर्नुपर्ने बताइन् । ‘विश्वमा दूरसञ्चार तथा सूचना प्रविधिको महत्व, औचित्य र आवश्यकता दिनदिनै बढिरहेको छ । अहिले दूरसञ्चार सेवा अत्यावश्यकीय सेवाको रूपमा स्थापित भइसकेको छ । यसले जनजीविकाका सबै आयामहरूलाई प्रभावित गर्दछ । सूचना प्रविधिको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर कूल गार्हस्थ उत्पादनमा पनि महत्त्वपूर्ण योगदान गर्ने बेला आएको छ, ’मन्त्री शर्माले भनिन् ।
प्रविधिमा आएको विकासक्रमसँगै एआई, ब्लकचेन, आइओटी, फाइभ जी जस्ता नवीन प्रविधिहरुको विकास उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आए पनि विश्वव्यापी सूचकमा भने भने पछाडि रहेकाले विश्व मानचित्रमा दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्ने बेला आएको बताइन् ।

प्रतिक्रिया